प्रेस काउन्सिलमा आजदेखि पहिलो महिला अध्यक्ष
सञ्चारमाध्यम र पत्रकारहरूको नियामक निकाय प्रेस काउन्सिल नेपालको अध्यक्षमा नेपाली कांग्रेससम्वद्ध प्रेस युनियनकी नेत्री बाला अधिकारीलाई नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबण्डा नमिलेका कारण दुई महिनादेखि नेतृत्वविहीन रहँदै आएको काउन्सिलमा अधिकारीलाई लैजाने सहमति जुटेको छ । सम्भवत: आज मन्त्रिपरिषद्को बैठक बसे अध्यक्ष नियुक्तिबारे निर्णय हुनेछ ।
बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल सकिएसँगै गत जेठदेखि काउन्सिलमा अध्यक्ष पद रिक्त छ । नयाँ अध्यक्षका लागि कांग्रेस र एमालेनिकट पत्रकारहरूले आ-आफ्नो च्यानलबाट लबिङ गरिरहेका छन् । खासगरी सञ्चार मन्त्रालयको नेतृत्व गरिरहेको एमालेले काउन्सिलको नेतृत्व लिने स्वभाविक अनुमान गरिएको थियोे ।
एमालेबाट निवर्तमान अध्यक्ष बालकृष्णसहित गोपाल खनाल,अखण्ड भण्डारी,तीर्थ कोइराला,रघु मैनालीको नाम चर्चामा थियोे । यिनै पाँच मध्येबाट एक जनाले अध्यक्षमा बाजी मार्ने अनुमान धेरैले गरेका थिए । तर, विभागीय मन्त्रालयको नेतृत्व गरिरहेको एमाले कोटाका सबैलाई जिल्याउँदै कांग्रेस निकट बाला अध्यक्षको कुर्सी नजिक पुगेको उच्च स्रोतको दावी छ ।
अन्तत: एमाले उपमहासचिवले नेतृत्व गरिरहेको मन्त्रालयले कांग्रेससम्वद्ध प्रेस युनियनकी नेत्रीलाई अध्यक्ष बनाउनेगरी क्याबिनेटमा प्रस्ताव लगिसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
बताइएअनुसार सञ्चारमन्त्री पिएस गुरुङ एमाले निकट एक जनालाई काउन्सिलको अध्यक्ष बनाउन चाहन्थे। यसअघि मन्त्रिपरिषद् बैठकमा अखण्ड र बालकृष्णको नाम पालैपालो प्रस्ताव पनि भएको हो । तर,दिलभुषण पाठक प्रकरणपछि काँग्रेसले काउन्सिलमा अतिरिक्त चासो राख्दा प्रधानमन्त्रीको समेत आग्रहमा नियुक्ति प्रक्रिया स्थगित गरेर राखिएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवा र उहाँकी अर्धांगिनी परराष्ट्रमन्त्री डा. आरजूका एकमात्र छोरा जयवीरसँग जोडिएको एउटा समाचारका कारण काँग्रेसले प्रेस काउन्सिलको नेतृत्वलाई प्रतिष्ठाको विषय बनाएर त्यसमा अड्डी कसेको जानकारहरू बताउँछन् ।
यसबीच भागबण्डाको छलफल हुँदा प्रेस युनियनको समेत भोटले निर्मला शर्मा पत्रकार महासंघको अध्यक्ष निर्वाचित भएकाले काउन्सिलमा कांग्रेसको दावी स्वभाविक हुने तर्क गरियो । काउन्सिलमा पत्रकार महासंघका अध्यक्ष स्वत: पदेन सदस्य हुने व्यवस्था छ ।
अन्तत: एमाले उपमहासचिवले नेतृत्व गरिरहेको मन्त्रालयले कांग्रेससम्वद्ध प्रेस युनियनकी नेत्रीलाई अध्यक्ष बनाउनेगरी क्याबिनेटमा प्रस्ताव लगिसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । पत्रकार महासंघको पूर्व कार्यवाहक अध्यक्षसमेत रहेकी बालाको नाममा क्याबिनेटले निर्णय गरे प्रेस काउन्सिलको नेतृत्व गर्ने पहिलो महिलाको रेकर्ड रहनेछ ।
टिप्पणीहरू