प्रकाश सपुतले घर बेचेर ऋण तिर्न लागेकै हुन् ?

प्रकाश सपुतले घर बेचेर ऋण तिर्न लागेकै हुन् ?

गायकबाट अभिनेता बनेका प्रकाश सपुतले घर बेचेर ऋण तिर्न लागेको खबर केही दिनदेखि चलचित्र वृत्तमा व्यापक बनेको छ। चलचित्र ‘वसन्त’ निर्माणको लागि निर्माता मोहन विश्वकर्मासँग लिएको रकम तिर्न सपुतले केही वर्षअघि मात्र राजधानीमा किनेको घर बेच्न लागेको दाबी धेरैको छ ।

तर, ती सबै समाचार मिथ्या रहेको उनी निकट स्रोत बताउँछ । भनिएको छ, ‘सपुतले घर बेच्ने कुनै योजना बनाएको छैन, तयारी त परको कुरा हो ।’

यहाँ बुझ्नुपर्ने कुरा के हो भने चलचित्र निर्माणअघि सपुतले निर्मातासँग भनेका थिए, ‘पैसा डुबे पनि घर बेचेर भए पनि फिर्ता दिनेछु ।’ तर हाल निर्माताले पैसा मागेका छैनन् । गत वर्ष चैतमा प्रदर्शन भएको ‘वसन्त’ ले देशका हलबाट दुई करोड ३० लाखभन्दा बढी कलेक्सन गरिसकेको छ भने डिजिटल राइट्सको बिक्री अझै बाँकी छ।

कुल दुई करोड ५० लाखमा निर्माण भएको उक्त चलचित्रले औसतमा लगानी उठाइसकेको छ। अब डिजिटल राइट्स र अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकारबाट आउने आम्दानी नाफा हुने पक्का छ ।

‘घर बेच्ने भन्ने यो नियोजित अफवाह मात्रै हो, त्यो आवश्यक पनि छैन,’ स्रोतले भन्यो । ‘निर्माताले पनि पैसा मागेका छैनन्, उनी सपुतसँग अर्को चलचित्र निर्माण गर्ने तयारीमा छन् । ‘वसन्त’ बाट आएको आम्दानी अर्को चलचित्रमा लगानी गर्ने कुरा मात्रै हो ।’

दलित समुदायको कथा समेटिएको उक्त चलचित्रमा प्रकाश सपुतसहित स्वस्तीमा खड्का, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

टिप्पणीहरू