ओलीलाई प्रचण्डको जवाफ: हावादारी गफ नदिए हुन्छ

ओलीलाई प्रचण्डको जवाफ: हावादारी गफ नदिए हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हावादारी गफ नलगाउन सुझाव दिनुभएको छ । ओलीको हावादारी गफले देश बर्बाद भएको उहाँको आरोप छ ।

संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीले हावादारीमात्रै गफ दिएको बताउनुभयो । भन्नुभयो, 'गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ ।'

प्रधानमन्त्री ओलीले हिजो संसद्को रोष्टममा उभिएर कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट जडानको काम तीब्र गतिमा भैरहेको दाबी गर्दै पत्यार नलागे फिल्डमा गएर हेर्न आग्रह गर्नुभएको थियो । त्यसअघि संसदबाटै प्रचण्डले ३६५ दिनमा रंगाशाला निर्माणको काम सम्पन्न नभएकोप्रति प्रश्न उठाएकोमा ओलीको यस्तो जवाफ आएको हो । 

त्यसको जवाफमा प्रचण्डले आज रंगशाला निर्माण कार्यलाई नजिकबाट नियालेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको बताउनुभयो  । 'टियू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ । त्यो बेठिक छ', उहाँले भन्नुभयो ।

यहि सन्दर्भमा प्रचण्डले प्रम ओलीले धरातल छोडेर हावादारी गफ दिएको दाबी गर्नुभएको हो ।

टिप्पणीहरू