कांग्रेसी साथीहरु, पदभन्दा नीतिमा लाग

कांग्रेसी साथीहरु, पदभन्दा नीतिमा लाग

कांग्रेसको १५ औँ अधिवेशनका लागि नेताहरू देश दौडाहामा छन् । विधानअनुसार ४ वर्षमा अधिवेशन हुनुपर्ने वैधानिक व्यवस्था भए पनि साधारण कारण देखाउँदै एक वर्ष थपेर यस वर्षको अन्तिमबाट २०८३ सालसम्म धकेलिने पक्का छ । यसअघिका सभापतिले पनि कम्तीमा एक वर्ष ठेलेका थिए भने वर्तमान सभापतिले त झन् मौका नछोप्ने कुरै भएन । विशेष परिस्थितिमा अरू ६ महिना लिन पाइने कानुनी व्यवस्था भएका कारण यो तन्किएर २०८४ सालसम्म पुगे आश्चर्य हुने छैन ।

१४ औँ महाधिवेशनबाट सभापतिमा विजयी शेरबहादुर देउवाको दुई कार्यकाल बित्ने कारण नेतृत्वबाट बाहिरिनेछन् । प्रतिस्पर्धामा आफू नरहेको उनले बताइसकेका छन् । १४ औँमा निकटतम प्रतिद्वन्द्वी बनेका डा. शेखर कोइराला प्रतिस्पर्धामा सबैभन्दा बलिया देखिएका छन् । यसैगरी पुराना प्रभावशाली नेता तथा उपसभापति पूर्णबहादुर खड्का अर्का दाबेदार नेता हुन् । यसैगरी अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेका कांग्रेस मन्त्रीहरूको नेतृत्व गरेका उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह सामान्य आकांक्षी हुन् । 

यसैगरी महामन्त्री गगनकुमार थापा बलिया प्रतिस्पर्धी हुन् । देशभर स्थानीय तहसम्म पकड बनाएका थापा शेखर कोइराला समूहबाट महामन्त्रीमा भारी मतले विजयी भए पनि पछिल्लो समय छुट्टै हिसाबले हिँड्ने गरेका छन् । त्यसो त उनले कोइराला समूहमै रहेर अर्को चोटिलाई सभापति सुरक्षित गर्ने संभावना पनि नभएकै चाहिँ हैन । विमलेन्द्र निधि १४ औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका नेता हुन् । पहिलो पटकको मतगणनामा ५० प्रतिशत ननाघेपछि दोस्रो पटक प्रकाशमान र बिमलेन्द्रले देउवालाई मत हालेका थिए । सिंह र निधिले साथ दिएपछि विजयी भएका सभापति देउवाले वरिष्ठ नेता डा. शेखर कोइरालालाई धेरै मतान्तरले पछि पारेका थिएनन् ।

२०८४ सालमा कस्तो नतिजा हासिल गर्ने भन्नेतिर चिन्तित हुनुभन्दा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, केन्द्रीय सदस्य गर्दै वडा सदस्यसम्म कसरी आउने भन्ने रणनीतिमा तलदेखि माथिसम्मै लागेका देखिन्छन् । 

१४ औँ महाधिवेशनमै प्रतिस्पर्धा गर्ने भनेर पूर्वमहामन्त्री डा. शशांक कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले हापेका थिए । नेपाल विद्यार्थी सङ्घको पूर्वअध्यक्षसमेत रहेका कल्याण गुरुङ पनि सभापतिको प्रतिस्पर्धामा थिए । ४ हजार ६ सय २३ जना महाधिवेशन प्रतिनिधिमध्येबाट २ हजार ७ सय ३३ मत ल्याई सिंह र निधिको समर्थनमा सभापति बन्न सफल देउवा बाहिरिएपछि प्रतिष्पर्धीहरू उनको समर्थन लिन तँछाडमछाड गरिरहेका देखिन्छन् । पहिलेदेखि नैसहकार्य गरेका आधारमा कतिपयले देउवाको साथ पाउनुपर्ने तर्क राखेका छन् भने इतर पक्ष पनि कडा विरोध नगर्नेतिर ढल्किरहेका देखिन्छन् । देउवाले खुलेर कसैलाई समर्थन नगरेका भए पनि उनले साथ दिए स्वतः जित्ने प्रवल सम्भावनाका कारण नेताहरू त्यस बाटोमा जागृत भइरहेका छन् । 

पूर्वगृहमन्त्री एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू सबैलाई मिलाएर लान सक्ने क्षमताको भएकाले सभापतिको समर्थन मिल्नेमा ढुक्क रहेको निकटस्थहरूलाई बताउन थालेका छन् । सभापतिका आकांक्षीहरुको संख्या अझ बढ्ने स्वतः सिद्ध छ । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दलका रूपमा कांग्रेसले २०७९ सालको संसदीय निर्वाचनमा ८९ सिटसहित सबैभन्दा ठूलो दल हुने मौका पाएको थियो । आफू सबैभन्दा ठूलो दल भए पनि दोस्रो पार्टी नेकपा एमालेलाई सरकारको नेतृत्व सुम्पिएको अवस्था छ । कांग्रेसले २०४८ र २०५६ सालमा भारी बहुमत ल्याएको भए पनि सोको प्रतिफल उठाउन नसकेको आरोप छ । २०८४ सालमा कस्तो नतिजा हासिल गर्ने भन्नेतिर चिन्तित हुनुभन्दा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, केन्द्रीय सदस्य गर्दै वडा सदस्यसम्म कसरी आउने भन्ने रणनीतिमा तलदेखि माथिसम्मै लागेका देखिन्छन् ।

अब नीतिमा नचले देश ५० वर्ष पछाडि धकेलिन्छ, नेतृत्व वा पदभन्दा पनि नीतिलाई अवलम्बन गरे मात्र देशको भविष्य छ, ०२१ औँ शताब्दीमा समाप्त हुँदै गएको कम्युनिष्ट विचारबाट देशमा समृद्धि र स्थायित्वको सम्भावना नभएका बेला कांग्रेसले अब पनि पदको बाँडफाँटभन्दा राष्ट्रियता, लोकतन्त्र र समाजवादको नीतिलाई बलियो बनाउने कार्यलाई पहिलो प्राथमिकता दिनु जरुरी देखिएको छ । अन्तर्राष्ट्रिय रूपमा समेत विश्वासिलो कांग्रेसले मात्र देशको काँचुली फेर्न सक्छ तर पहिलो नीतितर्फ नलागेमा भने त्यो कल्पनामै सीमित हुने निश्चित देखिन्छ । विचारमा बलियो हुनका लागि तत्काल नीतिमा ध्यान दिनुपर्छ, नेतृत्वमा जो आए पनि नीतिले नै गाइड गर्ने परिपाटी बसाउन विश्वभर बस्ने कांग्रेसका शुभचिन्तक तथा इमानदार नेता कार्यकर्तालाई अनुरोध गर्नु वा दबाब दिन जरुरी छ । 

(लेखक बाबुराम आचार्य कांग्रेस नेता हुन् ।)
 

टिप्पणीहरू