यता गिरफ्तार, पारि रातारात
गत साता काठमाडौंबाट समातिएका भारतीय कुख्यात हतियार तस्कर शेख सलिम उर्फ सलिम पिस्तोललाई नेपाल प्रहरीले गत शुक्रबार भारतीय प्रहरीको जिम्मा लगाएको छ ।
एक साताअगाडि जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई राजधानीबाट नियन्त्रणमा लिएको थियो । उनीसँग केही विदेशी मुद्रासमेत फेला परेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं र राजश्व अनुसन्धान विभागमा मुद्दा चलेकोमा उनी धरौटी बुझाएर छुटेको स्रोतको जिकिर छ । स्रोतले भन्यो, ‘एक साताअगाडि काठमाडौंबाट समातिएको हो । दुईवटा मुद्दा दायर भएको थियो । दुवैतिर धरौटी खुलेपछि त्यो बुझाएर गत शुक्रबार छुटेकामा काठमाडौं प्रहरीले उनलाई सोही दिन भारतीय प्रहरीको जिम्मा लगायो ।’
यता, परिसरले भने सो विषयमा अनभिज्ञता प्रकट गरेको छ । एक अधिकृतले भने, ‘यो अनुसन्धान अधिकृतले हेर्ने हो । धरौटी तिरेर छुटेपछि हामीसँग सरोकार हुने विषय नै होइन ।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पनि सो विषयमा कुनै जानकारी नभएको बताए । उनले भने, ‘यहाँ दिनहुँ सयौं धरौटी बुझाएर छुट्छन् । त्यसैले मैले ठ्याक्कै भन्न सकिन ।’ राजश्व अनुसन्धान विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठ आर्थिकसम्बन्धी विषय आफूले नहेर्ने भइन् । उनले भनिन्, ‘म आर्थिक कारोबारसम्बन्धी कुनै पनि विषय हेर्दिन । त्यसैले मलाई जानकारी छैन ।’
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी महानिरीक्षक विनोद घिमिरेले सो कुरा झुटो भएको दाबी गरे । ‘मैले पनि भारतीय मिडियामा हेरेर थाहा पाएँ । त्यस्तो केही भएको छैन ।’ दिल्लीमा जन्मिएका सलिमका नाममा थुप्रै आपराधिक क्रियाकलापमा जोडिएको छ । सन् २००० मा पहिलोपटक चोरीको आरोपमा समातिएका उनको पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्नता भेटिएको थियो ।
उनले गुण्डा लरेन्स बिस्नोई र हाशिम बाबाको समूहलाई हतियार आपूर्ति गर्ने गरेको आरोप छ । उनी नेपालमा लुकेको सूचना पाएपछि भारतीय सुरक्षा एजेन्सीहरूले यहाँको प्रहरीसँग समन्वय गरेर खोजतलास जारी राखेका थिए । भारतीय सञ्चारमाध्यमले उनी एक अपरेशनका दौरान पक्राउ परेको उल्लेख गरेका छन् ।
टिप्पणीहरू