करोडौंमाझ ‘कुल हाइनान’ अभियान

करोडौंमाझ ‘कुल हाइनान’ अभियान

चीनको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हाइनानले यो वर्षदेखि ‘कुल हाइनान’ अन्तर्राष्ट्रिय प्रचार अभियान थालेको छ । हालसम्म विश्वका तीन करोड ५० लाखभन्दा बढीको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, एक्स (पूर्व ट्विटर) मा अभियानअन्तर्गतको हाइनान फ्री ट्रेड पोर्टका नयाँ पर्यटनबारे जानकारी गराइएको बताइन्छ । 

हाइनान चीनको एकमात्र उष्ण हावापानी भएको सामुन्द्रिक प्रान्त हो । हाइनानमा अद्वितीय प्राकृतिक दृश्य, समृद्ध पर्यटन स्रोत र सांस्कृतिक सम्पदा पाइन्छ । पछिल्लो अभियानमा जनवरीदेखि जुलाईसम्म ५६ पोस्टमार्फत ११६ चर्चित र यसअघि कम जानकारीमा रहेका गन्तव्य, योजनाबद्ध यात्रा मार्ग र सिर्जनात्मक प्याकेजबारे प्रचार गरिएको थियो ।

जसअनुसार जनवरीमा ‘अमूर्त सांस्कृतिक सम्पदासहित वसन्त उत्सव’, फेब्रुअरीमा ‘वसन्त सुरुवात हाइनान भ्रमण’, मार्चमा ‘मार्च ३ उत्सव’, अप्रिलमा ‘ड्रिमर्स प्यारेडाइज’ र मे–जुलाईमा ‘कुल आइल्यान्ड’ थिम राखिएको थियो । जसमा फूल, चराचुरुङ्गी, समुद्री खेल, साहसिक यात्रा, जातीय संस्कार तथा स्वादिला परिकारको प्रवद्र्धन गरिएको थियो ।

हाइनानमा झण्डै दुई हजार किलोमीटर लामो समुद्रीतट छ । चार हजार २६९ वर्गकिलोमीटर उष्णकटिबन्धीय वनजंगल र तीन हजार वर्ष पुरानो ली संस्कृति पाइन्छ । अन्तर्राष्ट्रिय हवाई रुटमा जोडिएको टापुलाई हाई–स्पीड रेलबाट तीन घण्टामा परिक्रमा गर्न सकिन्छ । मनमोहक तटीय दृश्यसहितको मार्ग तथा राष्ट्रिय पार्कको दृश्यले त्यहाँ पुग्नेलाई मोहित पार्छ ।

हाइनानका १० प्रमुख आकर्षणमा सामुन्द्रिक यात्रा र मनोरञ्जन, ड्यूटी–फ्री शपिङ, स्वास्थ्य पर्यटनदेखि अन्तरिक्ष अनुभवसम्म समावेश गरिएको छ ।

टिप्पणीहरू