सीता जन्मस्थल भारत पो अरे !

सीता जन्मस्थल भारत पो अरे !

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले यही साउन २३ गते भारत, विहारस्थित सीतामढी जिल्लाको पुनौराधाममा जानकी मन्दिरका लागि भूमिपूजनसँगै शिलान्यास गरे । ‘मा जानकी मन्दिर’ नाम दिइने सो मन्दिर आगामी सन् २०२८ सम्म निर्माण सम्पन्न हुने बताइएको छ । सन् २०२४ को लोकसभा निर्वाचनपूर्व अयोध्यामा भाजपा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिर शिलान्यास गरेका थिए भने विहारमा हुने विधानसभा चुनावअघि गृहमन्त्री शाहले जानकी मन्दिर शिलान्यास गरेर राजनीतिक रङ दिने प्रयास भएको देखिएको छ । 

भारतीय जनता पार्टीको वेबसाइटले पुनौराधामलाई माता जानकीको जन्मस्थल नै बताएको छ । बेवसाइटअनुसार सो अवसरमा सहकारितामन्त्रीसमेत रहेका शाहले शिलान्यासको अवसर सीतामढी, मिथिलान्चल, विहारका लागि मात्र नभएर पूरै देश र दुनियाँका लागि शुभ अवसर भएको बताउँदै भने, “माता जानकीको जन्मभूमिमा जुन मन्दिर बन्ने छ, त्यो एक मन्दिर मात्र नभई मिथिलाञ्चल र विहारकै भाग्योदयको सुरुआत हो ।”

नेपालका लागि भारतको आन्तरिक राजनीतिसँग कुनै सरोकार छैन तर भारतीय मिडियाले पनि पुनौराधामलाई नै सीता जन्मस्थल ठानेर समाचार प्रकाशन गरेकाले नेपाल यसमा चनाखो हुनुपर्ने हो । भारतको राज्य सरकारले सो भूमिलाई रामजन्मभूमि अयोध्या जस्तै विकास गर्ने जनाउँदै वरिपरिको ५० एकड भूमि अधिग्रहण गरेको छ र करिब भारु नौ अर्बको योजना स्वीकृत गरेको छ । 

 यो घोर आपत्तिजनक विषयप्रति केही नेपाली मिडियाले समाचार दिए पनि नेपाल सरकारले केही प्रतिक्रिया नदिएकाले उसलाई यस विषयमा ज्ञात भए जस्तो लाग्दैन । भारत र भारत सरकारको आन्तरिक राजनीति र विषयमा नकारात्मक टिप्पणी गर्ने हक नेपाली राजनीति र मिडियालाई त्यति छैन । तर नेपालको जनकपुरधाम नै जानकीको जन्मभूमि भएको भनी मानिँदैआएकामा अब भारतले आफ्नै मानेको छ जुन उसको केन्द्रीय सरकारको पनि मान्यता रहेको शिलान्यास प्रकरणबाटै स्पष्ट हुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा आएर गौतम बुद्धको पूजाआजा गरे पनि सिद्धार्थलाई आफ्नै भूमिमा जन्मेको भन्न अझै छाडेको छैन । शुद्धोधनको प्राचीन कपिलवस्तु राज्य नै भारतमा भएको बताएर उसले नेपालको तिलौराकोटलाई युनेस्कोको विश्वसम्पदा सूचीमा राख्न भाँजो हाल्यो र नेपालको प्रस्ताव हाल स्थगन भयो ।    

प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७५ मा रामजन्मभूमि अयोध्यामा नेपालमै भएको बताएको र उनी अहिलेसम्म  पनि बेला बेलामा सोही कुरामा अडिग छन् । उनको सो भनाइप्रति भारत सरकारको औपचारिक प्रतिक्रिया आएको थाहा भएको छैन । सायद सोही कुराको खण्डन गर्न उसले सीतामढीको पुनौराधाम रोजेको हुनसक्छ जुन नेपालीलाई आजसम्म थाहै छैन । यसमा प्रधानमन्त्री ओली र उनको सरकारले जवाफ दिनु आवश्यक छ । 

राजा जनकले हलो जोतेको हाम्रै जनकपुरमा भएको र त्यहीँ सीतालाई फेला पारेको कुरा सरकारले स्पष्ट भन्न सक्नुपर्छ ।

राजा जनकले हलो जोतेको हाम्रै जनकपुरमा भएको र त्यहीँ सीतालाई फेला पारेको कुरा सरकारले स्पष्ट भन्न सक्नुपर्छ । भारतीय गृहमन्त्रीले बोलेको कुरा र पुनौराधामलाई जानकी जन्मभूमि मानेको कुरा भाजपाको आधिकारिक वेबसाइटमा नै फेला पार्न सकिने भएकाले भारत भ्रमणमा जान लागेका ओलीले त्यसैका आधारमा सो भनाइको खण्डन गर्न सक्नुपर्छ । भारतले ओलीलाई उतैको अयोध्यामा लान चाहेको कुरा मिडियामा आइरहेकाले त्यता उनी गएमा रामजन्मभूमिबारे आफ्नो कथनमा अडिन्छन् कि समर्पण गर्छन्, हेर्न, सुन्न बाँकी छ । अहिलेलाई माता जानकीबारे नेपालका राजनीतिक दल र नेताहरूको भनाइ भए पनि  आउनैपर्ने हो । नत्र तिन वर्षपछि हाम्रो बुद्धलाई हेर्दा हेर्दै तिनले लगे जस्तै माता सीतालाई पनि अपहरण गरेको टुलुटुलु हेरिरहनु मात्र पर्ने छ ।

टिप्पणीहरू