पाल्पामा आज बेग्लै रौनक

पाल्पामा आज बेग्लै रौनक

पाल्पाको तानसेनमा आज भगवती जात्रा (सिन्दुर जात्रा अर्थात रणउजिरेश्वरी भगवती खटयात्रा) भब्यताका साथ मनाइँदै छ । ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको यो पर्व नेपाल–अंग्रेज युध्द (वि.सं. १८७१–७२) मा नेपाली सेनाले जितगढी किल्लामा अंग्रेज फौजलाई पराजित गरेको विजयको सम्झनास्वरूप मनाउने चलन छ।

तत्कालीन पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युध्द जितेमा भगवतीको मन्दिर निर्माण गर्ने र हरेक वर्ष विजय उत्सव मनाउने भाकल गरेका थिए । जात्रा श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरबाट शुरु हुन्छ । भगवती देवीप्रति जनमानसमा गहिरो श्रध्दा रहेकोले जात्रामा लाखौं भक्तजन सहभागी हुने गर्दछन् ।जात्राको अघिल्लो रात पञ्चवली पूजा गरिन्छ ।यसलाई सिन्दुर जात्रा पनि भनिन्छ,किनभने रथमा सिन्दुर छर्किने परम्परा छ ।

जात्रामा रथयात्रा,सेनाको बढाइँ, परम्परागत नृत्य,र धार्मिक झाँकीहरू प्रदर्शन गरिन्छ । जात्रा तानसेन बजारका प्रमुख स्थानहरू पाल्पा दरबार,भगवती टोल,वसन्तपुर, कैलाशनगर,असनटोलमा परिक्रमा गराउने चलन छ । जात्रामा पाल्पा मात्र होइन, काठमाडौँ,रुपन्देही,गुल्मी, अर्घाखाँची,चितवनलगायतका जिल्लाबाट हजारौं नागरिक र उच्चपदस्थ व्यक्तिहरू सहभागी हुने गर्दछन् । यसले धार्मिक पर्यटन प्रवर्धन र राष्ट्रिय एकताको सन्देश फैलाउने मान्यता राखिन्छ ।

टिप्पणीहरू