जनप्रतिनिधिको प्रतिशोधले बालबालिका मारमा
इलामको एक पालिकाका स्थानीय जनप्रतिनिधिले प्रतिशोध साँध्दा साँढेको जुधाइ बाच्छाको मिचाइ भनेजसरी साना बालबालिकाले मार खेप्नुपरिरहेको छ । २०७५ सालमा एमालेले जितेको इलाम नगरपालिका २०७९ मा नेपाली कांग्रेसले लाग्यो । अघिल्लो जनप्रतिनिधिले ल्याएको स्थानीय पाठ्यक्रम प्रतिशोधपूर्ण रूपमा हटाएर हालको टोली नयाँ पाठ्यक्रम लागु गर्यो । तर, गएको शैक्षिक सत्रमा विद्यार्थीले पाठ्यपुस्तक देख्न पाएनन् । पुस्तककै अनुहार नहेरी विद्यार्थी परीक्षा लेख्न बाध्य भए । तिनै विद्यार्थी चालु शैक्षिक सत्रको चार महिना बितिसक्दा पनि पुस्तक पाउनबाट वञ्चित छन् । स्थानीय पाठ्यक्रम, त्यसमा पनि सदरमुकामको पालिकामा ।
पाठ्यक्रम परिमार्जन या फेरबदल गर्दा पनि कक्षागत रूपमा यता कक्षा–३, ३–५ र ६–८ गरेर क्रमशः पुस्तक परिमार्जन गरेको भए समस्या आउने थिएन । तयार गर्न र छाप्न सजिलो हुने थियो । तर दलीय प्रतिशोध राखेर अघिल्लो जनप्रतिनिधिले लागू गरेको सबै पाठ्यक्रम एकै पटक हटाउँदा कक्षा १ देखि ८ का विद्यार्थीले स्थानीय पाठ्यक्रम देख्न नपाएका हुन् । एमालेका विजयी जनप्रतिनिधिले ‘पर्यटन’ नामक पाठ्यक्रम लागु गरेका थिए । पछिल्ला जनप्रतिनिधिले त्यसलाई हटाएर ‘इलामको सेरोफेरो’ ल्याइदिए । लेखन र छपाइमा ढिलासुस्ती गर्दा विद्यार्थीले पुस्तक हात पार्न सकेका छैनन् ।
ऐनको व्यवस्थाअनुसार स्थानीय सरकारले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्नुपर्छ । सोहीअनुसार पालिकाहरूले निर्देशिका जारी गरेर आ–आफ्नोअनुकूलता र आवश्यकताअनुसार स्थानीय पाठ्यक्रम लागू गर्दै आएका छन् । इलाम नगरपालिकाले गत शैक्षिक सत्र बित्ने बेलामा कक्षा ३ सम्मको पाठ्यक्रम उपलब्ध गराएको थियो । यस शैक्षिक सत्रमा भने त्यो पनि उपलब्ध छैन । नगरपालिकाको प्रतिशोधका कारण विद्यार्थी मारमा परेको एक शिक्षकले बताए । पुस्तक बिना पढाउँदा समस्या हुने र विद्यार्थीले पनि चासो नलिने गरेको शिक्षकहरू बताउँछन् । नगरपालिकाले भने कक्षा–५ सम्मको स्थानीय पाठ्यक्रम (पुस्तक) दशैंसम्म उपलब्ध गराउने बताएको छ । दशैं आउन एक महिना मात्र बाँकी रहेकाले सो अवधिसम्ममा पुस्तक आउने सम्भावना कम रहेको शिक्षकहरू बताउँछन् । र, कक्षा–६ देखि ८ का विद्यार्थीले त यस वर्ष पनि पुस्तक नदेखी परीक्षा दिनुपर्ने अवस्था रहेको छ ।
टिप्पणीहरू