जागीर छोड्नुपर्थ्यो स्वास्थ्यमन्त्रीले, देशै छाड्यो डाक्टरले !

जागीर छोड्नुपर्थ्यो स्वास्थ्यमन्त्रीले, देशै छाड्यो डाक्टरले !

गंगालाल अस्पतालका हृदय शल्यचिकित्सक डा. रामेश कोइरालाले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएको खबरले ठूलै चर्चा पाइरहेछ । सर्वत्र चर्चा परिचर्चा व्याप्त छ । अस्पतालको डाक्टरले राजीनामा दिएको खबरको जति टिकाटिप्पणी भएको छ यसले बौद्धिक मस्तिष्क पलायन, पेशागत तीक्ष्ण व्यक्तिमा चुलिएको निराशा मात्र होइन त्यस घटनामा राजनीतिक अन्तर्य अझ बढी घुलेको रहस्य क्रमैसँग पर्दाफास हुँदैछ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउने पटक पटक आश्वासन दिएर डा. रामेश कोइरालालाई दर्खास्त हाल्न लगाएका रहेछन् । तर अर्कै व्यक्तिलाई स्वास्थ्यमन्त्री पौडेलले नियुक्त गरेपछि पन्छाइएका डा. कोइराला आश्वासन दिनेहरुसँग सोध्न पुगेछन् । राष्ट्रिय भाउजुले तपाईंलाई होइन, अर्कैलाई नियुक्त गर्नु भनेकाले सकेनौं, लवस्तरो जवाफ दिएछन् ।

भाउजुको वचन पालना गर्ने अनुचरको जवाफले हृदयरोग विज्ञ कोइरालाको हृदयमै चोट परेछ । तिनको झूट, फरेब र नालायकी उत्तरबाट क्षतविक्षत बनेकाले डा. कोइराला के गर्नु र के नगर्नुको अवस्थामा पुग्ने नै भए । क्षतविक्षत हृदयको उपचार गर्ने डाक्टरको हृदय नै छियाछिया बनेपछि उनी नेपालमा नै बस्दिनँ भनेर अमेरिका पलायन गर्ने निर्णयमा पुगेछन् । २५ वर्षसम्म दिनरात काम गरेको गंगालाल अस्पतालबाटै राजीनामा दिएर आफ्नो बाटो लागेछन् । कुरोको मजबून यही हो ।

स्वाभाविक प्रश्न उठ्छ, किन एउटा विज्ञलाई यो हदसम्म उचालेर मुण्टोसम्म उठाउन नसक्ने गरी थचारिएको होला ? डा. कोइरालाको ठाउमा तपाईं भएको भए के गर्नुहुन्थ्यो ? ए हो र भाउजुले त्यस्तो पो भन्नु भएछ भनेर आफ्नो स्वाभिमानलाई निउरमुण्टी न बनाएर अर्को पल्टको नियुक्तिको आश गरेर बस्नुहुन्थ्यो वा, म अर्को पटकमा तपाईंलाई पार्छु भन्ने जस्तो स्वास्थ्यमन्त्रीको नकच्चरो उत्तर सुनेपछि खुशीले आल्हादित बनेर हस् हजुर भनेर गलीत हुनुहुन्थ्यो ? अथवा, होनहार युवानेताहरु गगन र विश्वप्रकाशले जस्तै तपाई दुईतीन पल्टमै निरास बन्ने अवस्थामा नपुग्नुहोस्, हामी तपाईंलाई कहीं न कही सरकारी नियुक्तिमा पारेरै छाड्छौं भन्ने हुँकारकासाथ दिएको आश्वासनको विश्वासमा परेर अझै हौसिएर रोगी मुटुहरु सिउने क्रियामा लागिहाल्नु हुन्थ्यो ?

काविल व्यक्तिले गर्ने निर्णय प्रतिबद्ध, स्वाभिमान र आइपरेका चुनौतीलाई सामना गर्ने नै हुन्छ । त्यस्तै  प्रतिबद्ध, स्वाभिमानी र सबैलाई छक्क पार्ने निर्णय डा. रामेश कोइरालाले गरे । उनको निर्णय पनि ‘लथालिंग देशको भताभुंग चाला, जजस्ले सक्ला त्यसत्यसले खाला’ भन्ने मान्यता विपरित डा. भगवान कोइराला, डा शन्दुक रुइत, डा. रामकण्ठ मकाजु, डा. राजेन्द्र कोजुहरुले गरेको निर्णयकै तहको छ । भिन्नता कतिमात्र हो भने उपरोक्त डाक्टरहरुले पद इन्कार गरेर पनि स्वदेशमै कर्मशील बनेर काम गरिरहेका छन् तर पछिल्ला कोइराला भने रोजगारी खोज्न अमेरिका भासिएका छन् !

युवा मन्त्रीले स्वास्थ्य मन्त्रालय वर्षदिन बढी सम्हाली सक्दा पनि पनि सर्वसाधारण जनता पिडितको पिडित नै छन् । स्वदेशमा काम नपाएर, पाएको ठाउँमा बाधा अवरोध भएकोले दिनहुँ योग्य डाक्टरहरु विदेश पलायन भैरहेछन् ।

जहाँसम्म स्वास्थ्य क्षेत्रमा चमत्कारिक परिवर्तन गर्छु भनेर गुड्डी हाँक्ने युवा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कुरा छ, वीपी कोइराला प्रतिष्ठानमा तपाईं जस्तो काविल नेतृत्व गर्ने व्यक्तिको खाँचो छ भनेर आफैंले अगाडि सारेका व्यक्तिलाई उपकुलपति नियुक्त गर्न नसकेपछि लाचार बनेर स्वास्थ्यमन्त्रीको जागीरमा झुण्डिरहनुभन्दा राजीनामा ठोक्नुपर्ने थियो ! तर काँग्रेसका शीर्ष नेता रामचन्द्र पौडेलले भागबण्डा मिलाएर माओवादीको दयामा राष्ट्रपतिको जागीर खाने तर राजावादीले गणतन्त्रमाथि धावा बोल्दा मौन बसेर साखुल्ले बने जस्तै युवामन्त्री पौडेलले भागबण्डामा मन्त्रीको जागीर खाएको पुनरपुष्टि भएको छ ।

बोको काटेर १० भाग लगाउने अनि खप्टिएको भाग खानेभन्दा के अर्थमा फरक भयो मन्त्रीको जागीर ? युवा नेता पदमा पुगे भने समाज रुपान्तरण गर्छन् भन्ने विश्वास बोकेकाहरुलाई स्वास्थ्यमन्त्री पौडेलले निरास पारेका छन् । मन्त्रालयको रुटिन कामभन्दा बढी एउटा माखो मार्न सकेनन् । जकडिएको स्वास्थ्य मन्त्रालय, सधै थितिमा चल्ने स्वास्थ्य प्राविधिक अहेव र नर्स भन्दा संघर्षशील भनिने यी तोर्पे युवा बुद्धिजीवीले के गरे ? राणाकालमा जागीर खाएको मन्त्री भन्दा डाक्टरहरुको मन्त्रीले डाक्टर कोइरालाले जति पनि गर्न सकेनन् । अस्थायी र निगाहमा पाएको मन्त्रीले जागीर छोड्नुपथ्र्यो, स्थायी डाक्टरले पो आँट गरेर जागीर छाड्यो !

देशमा यतिधेरै डाक्टर छन् । बजेट छ । परियोजना छन् । स्वदेशी विदेशी सहयोग कम छैन । मन्त्रीले के गर्नुपर्छ र के गर्नु हुँदैन सम्म पनि पर्घेल्न सकेन युवापुस्ताको बहुचर्चित मन्त्रीले । यता र उता, हाइ र फाइ गरेरै, नेताको घर र शक्ति केन्द्र धाएरै केटोले कार्यकाल सक्ने भयो । भाउजुले दिइनन् , भाउजुले माल खाइन् भनी पो हिँड्छ रे । आफू मन्त्री छ, आफैं हस्ताक्षर गरेर मान्छे नियुक्त गर्छ अनि भाउजुले माल खाइन् भन्न पाइन्छ ? अरुले जे भन्छन् पदमा बसेर पनि त्यही दोहो¥याएर पपुलर होइन्छ र ? जनताको मनमा बस्न युग बदल्ने गरी काम गर्नुपर्छ मन्त्रीजी ।

मन्त्रीको झण्डा गाडीमा हल्लाएर सफल मन्त्री होइने भए सुशीला थापा धेरै समय स्वास्थ्य मन्त्री बनेकी होइनन् र ? बीपी कोइराला अठार महिना प्रधानमन्त्री बनेपनि चर्चित छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल नै हुनुपर्ने औचित्य के हो ? प्रत्यक्ष देखिने गरी दूरगामी र अल्पकालीन स्वास्थ्य अवस्था सुधारका योजना अगाडि सार र कार्यान्वयन गरेर देखाउ ! तर युवा मन्त्रीले स्वास्थ्य मन्त्रालय वर्षदिन बढी सम्हाली सक्दा पनि पनि सर्वसाधारण जनता पिडितको पिडित नै छन् । स्वदेशमा काम नपाएर, पाएको ठाउँमा बाधा अवरोध भएकोले दिनहुँ योग्य डाक्टरहरु विदेश पलायन भैरहेछन् ।

क्याबिनेट जागीरे मन्त्रीहरुको क्लब होइन । यो त देश र जनताको पक्षमा पुरुषार्थ देखाउने चुनौतिपूर्ण थलो हो । स्वास्थ्य क्षेत्रमा विद्यमान चुनौतिहरुलाई हेर्दा स्वास्थ्यमन्त्री जागीर खान होइन, स्वास्थ्य क्षेत्रमा सुशासन समृद्धि र सामाजिक आर्थिक न्यायको अवस्था सिर्जनाका लागि हो । नागरिक स्वास्थ्यलाई स्वस्थ राख्नका लागि स्वास्थ्य मन्त्रीले दिन र रात नभनेर काम गर्न हो । जागीरमा झुण्डिएर, विशाक्त मानसिकता बोकेर, लत्रिएर, घिस्रिएर, घोप्टिएर मन्त्रीको जागीर खान र देशको झण्डा रुपयोग गरेर हिँड्नको लागि होइन । सभ्य समाजमा यस्तो गतिविधि किमार्थ स्वीकार्य हुँदैन ।

बोको काटेर १० भाग लगाउने अनि खप्टिएको भाग खानेभन्दा के अर्थमा फरक भयो मन्त्रीको जागीर ? युवा नेता पदमा पुगे भने समाज रुपान्तरण गर्छन् भन्ने विश्वास बोकेकाहरुलाई स्वास्थ्यमन्त्री पौडेलले निरास पारेका छन् । मन्त्रालयको रुटिन कामभन्दा बढी एउटा माखो मार्न सकेनन् ।

डा. कोइरालाको राजीनामापछि सामाजिक सञ्जालमा स्टन्टबाजी जारी छ । यो प्रतिस्पर्धामा मन्त्री र डाक्टरहरु पनि उत्तीकै सक्रिय देखिन्छन् । तर उनीहरुले बुझ्नुपर्ने सत्य के हो भने यहाँ हरेक वर्ष नो अब्जेक्सन लेटर लिएर विदेश जाने डाक्टर कति छन् ? भाउजुले भनेकोले गरेको भन्ने मन्त्री कति जना छन् ?

देशका विभिन्न ठाउ मेडिकल हब भए भनेर गफ दिन्छन् नेता र मन्त्रीहरु । तर कति योग्य डाक्टर वर्षेनी पलायन भैरहेछन् थाहा छ ? स्वास्थ्य माफिया, मन्त्री, सेरोगेसी चलाउनेहरुको रजगज घटेको छैन, बढिरहेकै छ । यी सब विकृति विसंगति र अनियमितताहरुलाई टुलुटुलु हेरेर बस्नु, युवाहरुबीच चर्चित भनिएको र राजधानीबाट जितेको जाज्वल्यमान स्वास्थ्य मन्त्री साखुल्ले बनेको, डाक्टरहरु त विदेश गए मैले सकिन भनेर रोइलो गरेको कत्ति सुहाउँदैन । मिडियामा ङिच्च दाँत देखाएर कतिञ्जेल भागशान्ति जय नेपाल गरिरहने ? कर्मचारीले दिएको रुटिन काम उद्घाटन, शिलान्यास, सहभागिता, विदेश भ्रमण, स्वदेश यात्रा, निरीक्षण, भेटघाट, मिटिङमा सहभागिता जनाउनु बाहेक केही गरेको देखिँदैन । अनि यस्ताले युवा पुस्तालाई के बाटो देखाउँछन् ? न बृद्ध नत मध्य र युवा पुस्ता लम्पट मात्र भएको देखिइरहेको छ । सके काम गर, निष्ठा आदर्श पथप्रदर्शन रोलमोडल बन । बन्न सक्दैनौं ? सक्दैनौ भने राजीनामा दिएर अरुलाई मार्ग प्रसस्त गर ! संचार माध्यममा पटक पटक ङिच्च दाँत देखाएर भाउजुले पैसा लिइसकिछिन् भनेर लाचारी प्रकट गरिरहनु युवाहरुकै अपमान हो ।

समाजशास्त्रका एक प्राध्यापकले डाक्टरको पलायन र मन्त्रीको मुलायम नक्कचरोपनप्रति खह्रो टिप्पणी गर्दै भने, मलाई बिचरो स्वास्थ्यमन्त्रीबारे मात्रै टिप्पणी गर्नुछैन । खासमा त तपाई लेखक टिप्पणीकारहरु जसले सधैं नयाँ पुस्ता भनेर आशा देखाइरहनु भयो । मलाई भने युवा उमेर समूहबाट पदमा पुगेकाहरु गगन वा विश्व हुन् कि शंकर वा घनश्यामको चाल चलन र गतिविधि हेरेर लाग्छ, यिनीहरुबाट सुशासन, समृद्धि र न्यायसहितको  समता र समानताको जग हालिदैन । यिनीहरु त हाम्रो आधी उमेर गैसक्यो अब बाँकि उमेर स्रोत साधन राज्यस्रोत छोराछोरी साथिभाइ आफन्त खुशी पार्नका लागि कति उपयोग गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरिरहेका छन् जस्तो लाग्न थालेको छ । राजनीतिक आन्दोलनमा लागिएकोले सक्रिय उमेरमै जागीर, ब्यापार, ब्यवशाय गरिएन । मात्र राजनीतिको पछिपछि लागियो । नेताहरुसंगै उठबस गरियो । यत्र तत्र सर्वत्र देखियो । सहज र सुखको जिन्दगी बिताउने लक्ष मात्रै निर्धारण गरेका हुन् भन्ने लाग्छ ।

तपाईंहरुले पुल्पुल्याउनु भएका युवाहरुको हातमा न मुलुकको तस्बिर छ नत हृदयमा कुनै अठोट । भएको भए त यति लामो समयसम्म कहीं न कहीं देखिनु पर्नेथ्यो, होइन ? प्राध्यापक गंभीररतासँग रोष मिसाउदै गए, यिनीहरु आफ्नो पछि लागेका भाइबहिनीहरुलाई मात्रै म्यानेज गर्ने, दाइ भाउजु र बाउहरुको झर्ला र खाउला भनेर बसिरहेको झैं तपाईलाई लाग्दैन ? दाइ भाउजु र बाउलाई नचिढ्याइकन चुनाव अघि र निर्वाचनको बेलामा यिनीहरु आफूलाई फरक धारको देखाउन खोज्छन् र मतदातालाई लुटुपुटु पारेकै पनि छन् । अनि, निर्वाचन खर्च जुटाउन भित्रभित्रै राम्रो आय भएका कम्पनीमा ‘स्वेट शेयर’ खोज्ने, मालपानी कहाँबाट आउछ भन्ने कुरामा मात्रै दत्तचित्त र रंगमंगिएकै हुन् त ? उनैले थपे, यस्तो नहुँदो हो त मन्त्री पो राजीनामा दिएर विदेश पलायन हुन्थ्यो, डाक्टर होइन ! बरु यसो भएको भए मुलुकले राहत पाउथ्यो कि ?

टिप्पणीहरू