प्रहरीलाई अश्लील वाक्यमा प्रतिबन्ध
नेपाल प्रहरीले प्रहरी अधिकारी तथा कर्मचारीलाई अश्लील, अशिष्ट तथा द्विअर्थी शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । कतिपय सिनियर अधिकृतले सार्वजनिक भेटघाट, औपचारिक वा अनौपचारिक कुराकानीका क्रममा सेवाग्राही, प्रहरी कर्मचारी वा आफू–आफूबीचमा त्यस्तो भाषा प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो ।
महानिरीक्षकको सचिवालयअन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले उपत्यका प्रहरी कार्यालयसहित सातै प्रदेश कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई परिपत्र गर्दै असल आचरण व्यवहारको प्रवद्र्धन गर्न निर्देश गरेको छ । महाशाखाले केही सिनियर अधिकृतले नम्रता र नैतिक जिम्मेवारीका मूल्यमान्यता पर्याप्त रूपमा आत्मसात नगरेको देखिएको र यसले नागरिक र प्रहरीबीचको सम्बन्धमा दरार उत्पन्न हुनसक्ने भएकाले आचरण व्यवहारमा सुधार ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमार्फत सुझावसमेत प्राप्त भएको जनाएको छ ।
अबदेखि प्रहरी कार्यालयमा आउने जुनसुकै सेवाग्राहीलाई निजहरूको समस्या प्रहरीबाट तत्काल समाधान हुन नसक्ने खालका रहेपनि भद्र एवं शिष्टतापूर्वक व्यवहार गर्न भनिएको छ ।
टिप्पणीहरू