आफ्ना मान्छे जोगाउन श्रीमानको भागबण्डा

आफ्ना मान्छे जोगाउन श्रीमानको भागबण्डा

हालै उच्च अदालतमा ६ जना वकिलबाट न्यायाधीश बनाउँदा ४ जना कांग्रेस निकट परे । जसमा सुदूरपश्चिमतिरकी शर्मिला बिष्ट पनि छिन् । नेपाल बारको पूर्व केन्द्रीय सदस्य थिइन् । श्याम विश्वकर्मा पनि बारकै पूर्व केन्द्रीय सदस्य हुन् ।

शर्मिलाका श्रीमान् हिक्मत बिष्ट, भर्खरै विदेशबाट आएर जर्नेलको फुली थापेका छन् । यसरी कांग्रेसको तर्फबाट शर्मिला थापा विष्ट, अरुणकुमार पञ्जियार, श्यामकुमार विश्वकर्मा, कञ्चनपुरका प्रताप सिंह ठकुराठी (रमेश लेखकको निर्वाचन क्षेत्रका) उच्चमा पुगेका छन् भने एमालेको कोटाबाट बालकृष्ण गैरे र निशा बानियाँ परेको स्रोत बताउँछ ।

सुदर्शनदेव भट्टलाई विशेष अदालतमा लैजानुको कारण मोहन बस्नेतलगायतको मुद्दा पनि भएको स्रोतको भनाइ छ । उच्च अदालतमा १२ वर्ष सेवा नगरेकाले भट्टलाई पेन्सन प्राप्त हुँदैन । यसैले उनलाई सर्वोच्च अदालतमा लिने स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘रमेश लेखकको थप पावर चल्यो भने उनलाई मुख्य न्यायाधीश बनाउलान् ।’

‘पोखरामा सिनियर न्यायाधीश रत्नबहादुर बागचन्द छन्, ०६६ सालका न्यायाधीश हुन्, पेल्दापेल्दा बल्लबल्ल मुख्य न्यायाधीश हुन पाएका छन्,’ स्रोतले भन्यो, ‘उनीभन्दा पछि ०७३ सालकाहरू सर्वोच्चमा पुगिसके ।

सर्वोच्चमा के हुँदै छ ? 

सर्वोच्च अदालतमा एउटा न्यायाधीश पद खाली छ, जुन एमालेको कोटाबाट भरिने हो । असोज १८ गते कुमार चुडालले अवकाश पाउँछन् । अर्को वर्ष प्रकाश राउत, विनोद शर्मा र तिलप्रसाद श्रेष्ठ गरी तीन जनाले अवकाश पाउँछन् । सपना (प्रधान मल्ल) दिदीको पालामा शान्ति सिंह थापाहरूको सहित थुप्रै सिट खाली हुने स्रोत बताउँछ ।

विवादित न्यायाधीशलाई जोगाएरै छोडियो

मान्छेलाई जिउँदै इट्टा भट्टामा पोलेर निर्मममतापूर्वक मारेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद आफ्ताव आलमले जेठ १४ गते उन्मुक्ति पाए । रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनले सफाइ दिएका थिए । गम्भीर मुद्दामा विवादास्पद फैसला गरेपछि असार ५ गते थारु र महर्जनलाई न्यायपरिषद्ले तानेको थियो । तर वीरगञ्जबाट तानेजस्तो गरेर अहिले उच्च अदालत ओखलढुंगा इजलास र अर्जुनलाई धनकुटा पठाइएको छ ।’

(जनआस्था साप्ताहिकको भदौ ४ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू