ओली सीधै,मोदी जापान हुँदै चीनतिर
भदौ १५ र १६ गते चीनको थिएनचीन शहरमा हुने सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलन २०२५ मा २० भन्दा बढी देशका शीर्ष नेता सहभागी हुने तय भएको छ । त्यसैगरी १० अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरूको सहभागिता रहने चीनले जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै सहायक विदेशमन्त्री लिउ पिनले सम्मेलन चीनको कूटनीतिक संलग्नता र क्षेत्रीय सहयोगका दृष्टिले ऐतिहासिक हुने उल्लेख गरेका छन् । चीनले पाँचौ पटक आयोजना गर्न लागेको यो सम्मेलन संगठन स्थापनापछिको सबैभन्दा विशाल हुनेछ ।
चीनले आमन्त्रित विदेशी नेताहरुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,इरानी राष्ट्रपति मसुद पेझेस्कियन,कजाखस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभ, किर्गिजिस्तानका राष्ट्रपति सादिर जापारोभ र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ सहभागी हुने जानकारी दिएको छ ।
त्यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन,ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमान,उज्बेकिस्तानका राष्ट्रपति सब्कत मिर्जियोयेभ, मङ्गोलियाका राष्ट्रपति उखनाआ खुरेलसुख,अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभ,आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यान, कम्बोडियाका प्रधानमन्त्री हुन मानेत, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु,नेपाली प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा सहभागी हुने जनाइएको छ ।
त्यस्तै टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान,इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबाउली,तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेर्दिमुहामेदोभ, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तो, लाओसका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव थोङ्लुन सिसौलिथ,मलेसियाका प्रधानमन्त्री अन्बर इब्राहिम र भियतनामका प्रधानमन्त्री फाम मिन चिन्ह पनि शिखर सम्मेलनमा पाहुना हुँदैछन् ।
भारतीय प्रधानमन्त्री भने जापान हुँदै चीन जाने बताइएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार मोदी आगामी शुक्रबार जापान गएर आइतबार चीनको थिएनचीन पुग्ने कार्यक्रम छ । अगस्ट २९ देखि ३० सम्म मोदीले जापान भ्रमण गर्दैछन् । मोदी प्रधानमन्त्री बनेपछि जापानको यो आठौँ भ्रमण हो ।
टिप्पणीहरू