हैजा रोक्न डाक्टरहरूको टोली वीरगञ्ज जाँदै
केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हाे। गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको व्यवस्थापना मिलाउन निर्देशन दिनुभएको छ।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुखहरूले मुलुकको शान्तिसुरक्षा समीक्षा गरेका थिए। यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादवबीच वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रणबारे छलफल भएको छ।
स्थानीय सरकारसँग समन्वय गर्दै बिरामीको तत्काल उपचार तथा सरकारी र निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ।
टिप्पणीहरू