तीन जर्नेलमाथि छानबिन शुरु

तीन जर्नेलमाथि छानबिन शुरु

नेपाली सेनाका तीन उच्च अधिकृतमाथि विशेष छानबिन प्रारम्भ भएको छ । राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका प्रमुख कार्यकारी निर्देशक भुवन कुँवर, जंगी अड्डाका मेडिकल हेड डा. अरूण शर्मा र गतसाता सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट प्रबन्धरथी विभागमा सरुवा भएका उपरथी प्रकाश देउजामाथि छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गरिएको छ । 

छानबिनको जिम्मा उपत्यका पृतनापति रवीन्द्र खत्रीलाई दिइएको छ । क्यान्टिनको ठेक्कापट्टामा भएको गडबडीमाथि छानबिन हुने भनिए पनि भित्री कुरा अर्कै भएको सैनिक स्रोतको दावी छ । खासमा उनीहरूमाथि रगत परीक्षणका लागि प्रयोग हुने ‘रि–एजेण्ट’ खरिदमा भएको आर्थिक अनियमिततामा छानबिन हुन लागेको हो । 

जतिबेला पनि व्यापारीको घेराबन्दीमा हुने उनको दिनचर्याबारे जनआस्था साप्ताहिकले ‘सम्धीका नातेदारको शान’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यसलगत्तै २४ घण्टे स्पष्टीकरण सोधेर जंगी अड्डाको जगेडा पुलमा तानियो । यता, उपरथी देउजामाथि पनि छानबिन हुँदै भनेर अघिल्लो साता जनआस्थामै समाचार प्रकाशन भएको छ । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पावर लगाएर सरुवा रोकेका देउजा सम्भाररथी विभागमा थिए । सैनिक अस्पतालमा मेडिकल ठेकेदार बाबुराम कोइराला ‘गाईखुरा’ र उमेश अग्रवालहरूले सामान सप्लाइ र निर्माणको काम गर्दै आएका छन् । एक कर्मचारीका अनुसार वार्षिक १५ करोड रूपैयाँको ‘रि–एजेण्ट’ खरिद गरिन्छ । ‘रि–एजेण्ट’ खरिद गर्दा ठेकेदारले मेसिन सित्तैमा दिने गरेकोेमा पछिल्लो पटक झण्डै चार करोड रूपैयाँ हालेर खरिद गरिएको छ । त्यसमा पनि  घोटाला भएको स्रोतको जिकिर छ । 

‘करोडौं हालेर मेसिन खरिद गरियो, त्यो पनि नियमविपरीत । त्यसमा ठूलो आर्थिक अनियमितता भएको पाइएपछि छानबिन हुन लागेको हो’,स्रोतले भन्यो । मेसिन किन्ने बेला देउजा सम्भाररथी थिए । कुँवर, देउजा र डा. शर्माले मिलेर त्यसलाई कार्यान्वयन गरेको स्रोतको जिकिर छ । अस्पतालमा प्रयोग हुने औषधी पनि एकदमै कमसल गुणस्तरको हुने गरेको छ । डा. शर्माको सिद्धार्थ वनस्थलीमा एक किड्नी अस्पताल छ । त्यहाँ पनि ‘गाईँखुरा’ ले नै मेडिकल सामान सप्लाई गर्दै आएका छन् । उनले डा.शर्माको अस्पताललाई फर्निचर पनि दिएका थिए । 

स्रोत भन्छ, ‘अस्पतालमा धेरै–धेरै औषधी चाहिन्छ । खुइँखुइँ टेण्डर गर्‍यो, कमसल सामान आयात ग¥यो अनि कमिशन खायो ।’ यता, सैनिक प्रवक्ता राजाराम बस्नेतले कुँवरलाई नियमित तालिकाअनुसार हेडक्वार्टर सरुवा गरिएको दावी गरे । 

प्रिन्सिपल परिवर्तन 

मेडिकल कलेजको प्रिन्सिपलमा गाइनोकोलोजिष्ट डा.रत्ना खत्री आएकी छन् । पूर्वअधिराजकुमार धीरेन्द्र वीरविक्रम शाहका ज्वाइँ राजीव शाही भदौ ५ गतेबाट भूपू भएपछि उनलाई उक्त जिम्मेवारीमा लगिएको हो ।

(जनआस्था साप्ताहिकको भदौ ११ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू