अध्यक्षसँग मेरो माइक खोसाखोस भएकै हो

अध्यक्षसँग मेरो माइक खोसाखोस भएकै हो

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पोखरामा सम्पन्न १० औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित युवन्तिका कुलुङ राईलाई विदेश पठाइदिन्छु भनेर सर्वसाधारणबाट रकम असुलेको लगायतका आरोप लगाउँदै  साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । विद्यालयदेखि नै राजनीतिक रुपमा सक्रिय उनले २०७९ साल वैशाख ३० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । एमाले इलामको निर्वाचित जिल्ला सदस्य पनि हुन् । पूर्वराष्ट्रपतिको कित्तामा लाग्यो भनेर आफूलाई कारबाही गरिएको बताउँछिन् ।

० युवा संघले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नलाई पैसा असुलेकै हो र तपाईंँले ? 

– यदि, मैले कसैसँग पैसा असुलेको रहेछु भने उहाँलाई स्वयं सार्वजनिक हुन चुनौती दिन्छु । साथै, यो विषयमा कुनै उजुरी सम्बन्धित निकायमा छ भने मलाई कानुनबमोजिम कारबाही गर्न अनुरोध गर्दछु । 

० उसोभए पार्टी जिल्ला कमिटीले चाहिँ किन कारबाही ग¥यो त ? 

– जिल्ला कमिटीले मसमेतलाई विपक्षी बनाई झुटो विवरण पेश गरी नागरिकता लिएको आरोपको मुद्दामा अदालती प्रक्रियालाई सघाउन निलम्बन गरेको थियो । सम्मानित अदालतबाट फैसला भइसकेकाले जिल्ला पदाधिकारीले विधानअनुसार तुरुन्तै फुकुवा प्रक्रिया अघि बढाउनुहुनेछ भन्ने विश्वास छ । 

० पूर्वराष्ट्रपतितिर लागेको हो ? 

– म राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाधिवेशनमा सुमन पुरी टिमबाट चुनाव लडी खुला महिला केन्द्रीय सदस्यमा निर्वाचित भएको हुँ । वर्तमान युवा संघ अध्यक्षाको टिमका सदस्यहरू प्रदेशमा हार्दा पनि मनोनीत गरेर सचिवालयमा  राखिएको छ । तिनलाई स्थान दिन हामी अर्को टिमबाट जितेर आएकाहरूलाई विभिन्न आरोप लगाएर कारबाही गरेका हुन् । 

० कारबाहीको प्रतिवाद पनि गरिरहनुभएको छ । अबको राजनीतिक यात्रा कसरी अघि बढ्छ । एमालेमै रहेर अघि बढ्न सम्भव छ ?

– मैले पार्टी र संगठनको विधानविपरीत कुनै पनि क्रियाकलाप गरेको छैन । यही पार्टीमा रहेर राजनीति बढाउनेछु र नेतृत्वका गलत कदमविरुद्ध सधैँ संघर्ष गर्दै जानेछु । 

० एमाले अध्यक्षका प्रिय मान्छे भनेर पो चिन्थे त, कसरी कारबाही गरे  तपाईंलाई ? 

– कार्यकर्ता सबै अध्यक्षज्यूको प्रिय नै हुन्छन् । मलाई गरिएको कारबाहीमा उहाँको भूमिका छ जस्तो लाग्दैन । 

० नेतृत्वको अपारदर्शिता र नैतिक चरित्रबारे पनि कुरा उठाउनुभएको छ । योभन्दा अघि कुरै गर्नुभएन, कारबाहीपछि मात्र किन ?

– युवा संघको केन्द्रीय पूर्ण बैठकहरू, च्यासलमा भएका बैठक र एआई सम्मेलनमा समेत आवाज उठाएको थिएँ । अध्यक्ष क्षितिज थेबेसँग माइक खोसाखोस पनि भएको थियो । यसरी आवाज उठाउँदा पहिले पनि मविरुद्ध कारबाही गर्ने पटक–पटक प्रयास भयो । यदि, मैले प्रेस मिटमा उठाएका मुद्दा असत्य भए पूर्वअध्यक्षदेखि हालसम्मका सबै पदाधिकारीसँग सोधे हुन्छ । 

० हिमाल चढ्नुभन्दा राजनीतिमा अघि बढ्नु गाह्रो हो कि क्या हो ?

– दृढ आत्मविश्वासका साथ इमान्दार भएर मिहिनेत गरेको खण्डमा दुवै क्षेत्रमा सफल हुन सकिन्छ । 

० पार्टीका सदस्यहरूले मन पराएकाहरूलाई कारबाही किन र केका लागि गरिएको होला ?

– विकृति र अपारदर्शिताविरुद्ध बोल्दा आवाज दबाउन उठाइएको अवैधानिक कदम हो । 

० नागरिकताको विषय के हो, प्रष्ट पारिदिनुस् न ?

– म नाबालिका भएकै बेला जिल्ला प्रशासन कार्यालयबाट २०६८ सालमा युवन्तिका तामाङ नामको नागरिकता किशोर तामाङले निकालिदिएका थिए । सो नागरिकता झुटो विवरण पेश गरेर लिएको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा चलेकोमा अदालतबाट फैसला भई खारेज भएको र मलाई रु १०००००।– जरिवाना भएको थियो । सो जरिवाना तिरिसकेको छु । दोहोरो नागरिकता लिएको छैन । तर, मुद्दाको व्यहोरा फरक पारेर सम्मानित अदालतको मानहानि हुने गरी विवादमा ल्याउने काम भएको छ ।
 

टिप्पणीहरू