आक्रमणको कारण टेलिभिजन अन्तरर्वार्ता ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि भएको आक्रमणलाई राजनीतिक कारणले प्रेरित भएको बताउँदै तत्काल छानबिनको माग गरेको छ। पार्टीले भण्डारीलाई केही समयअघि नारी टिभीमा दिएको अन्तरवार्ताका कारण आक्रमण गरिएको दाबी गरेको छ।
रास्वपाले घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ। जारी विज्ञप्तिमा भनिएको छ : ‘पीडित भण्डारीका अनुसार नारी टिभीमा केही समयअघि दिएको अन्तरवार्तालाई आधार बनाएर उनलाई निरन्तर धम्की आइरहेको थियो। केही दिनअघि एक समूहले उनको कार्यालय रहेको भवनमै पुगेर सोधखोज समेत गरेको थियो। त्यसैले, भण्डारीले आक्रमणको कारण राजनीतिक भएको बताएका छन्। यस निन्दनीय घटनाको तत्काल विश्वासिलो छानबिन गरी दोषीलाई पक्राउ गरी कानूनी कारबाही गर्न जोडदार माग गर्दछौं।’
रास्वपाका अनुसार भण्डारीमाथि गएराति काठमाडौंको कपनस्थित प्रगति चोकमा नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका तीन जनाले फलामको रडले टाउकोमा प्रहार गरेका थिए । सो क्रममा उनको गाडीसमेत तोडफोड गरिएको बताइएको छ ।
टिप्पणीहरू