चीनका डाटा सेन्टर नयाँ औद्योगिक क्रान्तिको केन्द्रबिन्दु बन्दै
कृत्रिम बुद्धिमत्ता (एआई)ले कम्प्युट र भण्डारणको माग तीव्र रूपमा बढाइरहेका बेला चीनका डाटा सेन्टरहरू उच्च गतिमा नयाँ पुस्ताका विशाल संरचनामा विकसित हुँदैछन । ती सेन्टरहरु झन् छरितो, ऊर्जा–दक्ष र शक्तिशाली हुनेछन् ।
चीनको उत्तरी भागमा रहेको क्वाङलिङ काउन्टीमा थालिएको नयाँ कम्प्युटिङ पावर पार्कमा देशकै सबैभन्दा ठूलो कम्प्युटिङ उपकरणको अनुसन्धान, विकास र एकीकरणका लागि विशेष कारखाना स्थापना गरिएको छ।
यो केन्द्रले पूर्वनिर्मित ढाँचालाई अगाडि बढाउँदै कम्पनीहरूका लागि पूर्वनिर्मित समाधान उपलब्ध गराइरहेको छ । जसमा पूर्वाधार, विद्युत आपूर्तिलगायतका सेवा समावेश छन् ।
बीसीआई ग्रुपका सीईओ चु चिंग भन्छन्, ‘कम्प्युटिङ पावरको युगमा एजाइल डेभलपमेन्ट र कम लागतको आवश्यकतालाई ध्यानमा राख्दै हामीले ‘टी+४’ मोडेल हासिल गरेका छौं। यसको अर्थ, ग्राहकको चाहनाअनुसार चार महिनाभित्रै पूर्ण कम्प्युटिङ पावर मोड्युल उपलब्ध गराउन सकिन्छ।’
भण्डारण प्रविधिमा भएका नयाँ उपलब्धिले डाटा सेन्टरहरूलाई अभूतपूर्व भण्डारण क्षमता र ऊर्जा दक्षता हासिल गर्न सम्भव बनाइदिएका छन्।
उदाहरणका लागि, प्रविधि कम्पनी हुवावेको एआई–विशेष भण्डारण प्रणालीले प्रति सेकेन्ड दुई करोड ४० लाख इनपुट÷आउटपुट अपरेसन गर्न सक्छ र ५०० गिगाबाइट प्रति सेकेन्डसम्मको ब्यान्डविथ उपलब्ध गराउँछ।
यो प्रणाली अहिले नै देशभरका थुप्रै विशाल कम्प्युटिङ केन्द्रहरूले प्रयोग गरिरहेका छन्।
हुवावेका उपाध्यक्ष चौ युएफंग भन्छन्, ‘चीन हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा डाटा भण्डारणमा विश्वकै अग्रणी बनेको छ । हामीसँग रहेको उत्कृष्ट भण्डारण क्षमतालाई प्रयोग गरेर कम्प्युटिङ क्षमतामा अझै वृद्धि गर्न सक्छौं। राष्ट्रिय एआई विकासको एउटा महत्वपूर्ण दिशा यस्तो हुनुपर्छ, भण्डारणमार्फत् कम्प्युटलाई सशक्त बनाउने र डाटा पुनःप्राप्तिमार्फत् कच्चा गणनालाई परिपूरक गर्ने ।’
यस वर्ष उत्तरी चीनको दातोङमा आयोजित कम्प्युटिङ पावर सम्मेलनमा सार्वजनिक गरिएको उद्योग पूर्वानुमानअनुसार, चीनको बौद्धिक कम्प्युटिङ पावर यस वर्ष ४० प्रतिशतभन्दा बढीले बढ्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा सहभागी अधिकारीहरूले जानकारी दिँदै यो वर्षको जून महिनासम्म चीनको बौद्धिक कम्प्युटिङ पावर ७८८ इएफएलओपीएसमा पुगेको छ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू