यी प्रश्नबाट भाग्न खाेज्दा हातपात भोगे सुदन गुरुङ्गले

यी प्रश्नबाट भाग्न खाेज्दा हातपात भोगे सुदन गुरुङ्गले

जेनजी आन्दोलनको मुख्य स्टेक होल्डर दावी गर्ने गैरसरकारी संस्था ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङमाथि हातपातको अवस्था सिर्जना भएको छ । आफूमाथि उठेका विभिन्न प्रश्नबारे स्पष्ट पार्न आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरेका गुरुङले प्रश्नको सामना गर्न नसकेपछि विवाद भएको थियो । 

शुरुमा गुरुङले आफ्नो कुरा राख्दै मुलुकमा ठूलो परिवर्तन आएको दावी गरेका थिए । तर पत्रकारले उनको कुराको खण्डन गर्दै सोधे, ‘त्यति धेरै नागरिकको बलिदान दिएर ल्याएको परिवर्तन भनेको यही ६ महिने अन्तरिम सरकार हो ? तपाईंहरुले भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अब कसरी सम्भव छ ? जबकि तपाईंहरुले त संसद विघटन गरिसक्नुभयो,यसको असर थाहा पाउनुभएको छ ?’

‘आन्दोलनको नेतृत्व हामीले गरेको हो भन्दै सरकार बनाउन तपाईं नै अघि सरेपछि घटनाको जिम्मेवारी लिनुपर्दैन ?’

गुरुङ्गले कुनै जवाफ दिन सक्दैनन् । बरु अनभिज्ञता प्रकट गर्छन्, ‘कहाँ असर गरेको छ र ?’ 

पत्रकार सोध्छन्, ‘यही तरिकाले त ६ महिनापछि फेरि पुरानै दलका नेताहरु आइहाल्छन् नि !’

तब गुरुङ रुखो शैलीमा भन्छन्,‘हामी आउनै दिन्नौँ,फेरि आन्दोलन गर्छौँ, घरबाट बाहिर निस्कनै दिन्नौँ ।’

पत्रकार फेरि सोध्छन्, ‘७० जना मान्छेको बलिदान दिएर यस्ताे अस्थिरता ल्याउनु परिवर्तन होइन ।’

त्यसपछि गुरुङ जङ्गिदै भन्छन्, ‘८० वर्षपछि नेपाल आज परिवर्तन भएको छ,के कुरा गरेको तपाईंले ?’

पत्रकार सोध्छन्, ‘त्यत्रो आगलागी भएको छ,क्षति भएको छ,त्यसको जिम्मा लिनुपर्दैन ?’

गुरुङ भन्छन्,‘आगो हामीले लगाएको हो र !’

पत्रकार प्रतिप्रश्र थप्छन्, ‘आन्दोलनको नेतृत्व हामीले गरेको हो भन्दै सरकार बनाउन तपाईं नै अघि सरेपछि घटनाको जिम्मेवारी लिनुपर्दैन ?’

गुरुङ भन्छन्, ‘आगो हामीले लगाएको होइन,यो अन्त्य होइन,सुरुवात मात्रै हो !’

‘मतलब अझै आगो बल्छ भन्न खोज्नुभएको हो ? थर्काउन खोज्नुभएको हो ?’भन्दै पत्रकार थप प्रश्न गर्छन् । 

गुरुङ भने थप चर्किदै  ‘होइन’ भन्छन् । उनी जंगिरहेकै देखिन्छन् । 

त्यत्तिकैमा असन्तुष्ट जेनजीको अर्को समूह (जो संसद विघटन चाहँदैनथ्यो) पनि मञ्चमै पुगेर गुरुङमाथि हातपात गरेको देखिन्छ । त्यतिबेला पत्रकारले नै छुट्याएर प्रहरीलाई खबर गरेका छन्  ।
 

टिप्पणीहरू