पुनः निर्माण कोषमा रकम जम्मा गर्दै सर्वसाधारण
जेन–जी विध्वंसमा ध्वस्त भएका सार्वजनिक तथा सरकारी संरचनाको पुनःनिर्माणका लागि सरकारले खडा गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मा सर्वसाधारणले रकम जम्मा गर्न थालेका छन् । पत्रकार गजेन्द्र बुढाथोकीले उक्त कोषमा आफूले सकेको रकम जम्मा गरेको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । बुढाथोकीले झैँ अरु केहीले पनि कोषमा रकम जम्मा गरेको जानकारी दिएका छन् ।
अर्थ मन्त्रालयले ध्वंसमा परेका सरकारी संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापना कार्यका लागि कोष सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले संघ, प्रदेश, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ–संस्थालाई पनि सहयोगका लागि आह्वान गरेको छ।
‘आफ्नो तर्फबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकार सबैमा हार्दिक आह्वान गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले योगदान गर्ने रकम चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न सकिने व्यवस्था पनि गरेको छ ।
सहयोग रकम राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १९६०१००१०२०७०००४ वा क्युआर कोडमार्फत जम्मा गर्न सकिने छ। यसका लागि उपलब्ध गराइएको क्युआर कोड पनि प्रयोग गर्न सकिन्छ ।
टिप्पणीहरू