बोली फेर्नेमा अझै त्यही बथान
०६२/६३ को राजनीतिक परिवर्तनपछि कांग्रेस, एमाले र माओवादी केन्द्र सत्ता राजनीतिको केन्द्रमा रहँदै आउँदा २०७२ सालमा संविधान जारी भएदेखि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पालैपालो प्रधानमन्त्री बने । २०७९ को आमनिर्वाचनपछि त झन् प्रधानमन्त्री पद यिनै तीन नेताको ‘म्युजिकल चेयर’ जस्तो बन्न पुग्यो । १० वर्षदेखि यौटै अनुहार निरन्तर कुर्सीमा रहँदा राजनीतिक पार्टीप्रति जनतामा असन्तुष्टि बढ्दै थियो । तीन जना नेता मिलेर राज्य शक्तिको चरम दोहन गरिरहेका छन् भन्ने भाष्य जबर्जस्त स्थापित हुँदै गयो । यसबाट शुरु भएको युवा आक्रोशको आगोले ४८ घण्टामै केपी ओलीको सत्ता ढालिदियो । सडकको बलमा काङ्ग्रेस–एमाले नेतृत्वको सरकार विस्थापित गर्दै ७३ वर्षे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अहिले निर्दलीय सरकार छ ।
खासगरी सामाजिक सञ्जालमाथिको प्रतिवन्ध र भ्रष्टाचार तथा कुशासनविरुद्ध जेन–जी पुस्ताले गरेको हस्तक्षेपको जगमा बनेको यो सरकार चुनावी सरकार हो । तर, यसबाहेक दैनिक प्रशासनिक काम र युवाहरूको माग संबोधन गर्नुपर्ने दायित्व पनि छ । विशिष्ट अवस्थामा बनेको सरकारलाई नियुक्ति, सरुवा, बढुवाजस्ता झिना मसिना काममा अल्झिने छुट छैन । प्रधानमन्त्री र मन्त्रीहरू हरेक क्षेत्रमा रहेका बिचौलियाबाट जोगिन सक्नुपर्छ । जुनसुकै सरकार आए पनि सत्तामा सीमित वर्गको मात्र हालीमुहाली हुने विगतको पृष्ठभूमिमा यसपटक पनि पहिले अवसर छोपेका पात्रहरूको सल्बलाहट शुरु भइसकेको छ । पटक–पटक यस्तो देखिएको छ कि कतिपयको खेती नै सत्ताको नजिक रहेर फाइदा लुट्नु हो । कांग्रेस र एमाले पछिल्लो ३५ वर्ष र माओवादी केन्द्र १८ वर्ष सत्तामा रहँदा यस्तै अवसरवादीले विभिन्न ठाउँमा मौका पाए । तिनै पात्रले अहिले कुरा फेर्न थालिसकेका छन् । विगतमा आफू संलग्न आन्दोलन, पार्टी र नेतालाई धारेहात लगाउँदै सञ्जाल रंग्याउन तिनलाई भ्याइ–नभ्याइ छ ।
निर्वाचन आयोग, वित्त आयोग, समावेशी आयोगलगायत विभिन्न संवैधानिक निकायसहित थुप्रै सरकारी पदमा पदाधिकारी खालि भइसकेको छ । प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गर्नुपर्ने छ । नेपाल प्रहरीमा एआइजी रिक्त हुँदैछ । विषय विज्ञ र बुद्धिजीवीको आवरणमा सदाबहार अवसर लुट्नेहरू विगतमा शेरबहादुर, केपी र प्रचण्डको चाकडी गर्थे । यिनै पात्र अहिले अर्को रूपमा भित्रभित्र सक्रिय भैरहेको पाइन्छ । सत्ताको दलाली गर्ने रामचन्द्र भट्टजस्ता चन्दने बाहुन अनि देवी बरालजस्ता जता पद पायो त्यतै कुद्नेहरू पनि पक्कै लाग्ने छन्, जसरी विगतमा प्रधानमन्त्री फेरिनेबित्तिकै सिंहदरबार र बालुवाटारको परिक्रमा गर्थे । समान्तवादी संस्कृतिबाट आएको नेपाली समाजमा यो प्रवृति राणाकालदेखिकै हो ।
त्यतिबेला श्री ३ को हवेलीमा पुगेर हात पसार्दै टोपी फुकालेर पाउमा राख्नेहरू नियुक्तिको असली हकदार हुन्थे । शाह वंशीय राजाको पालामा पनि त्यही भयो । कम्युनिष्ट भन्नेहरूले समेत आफूलाई योभन्दा भिन्न देखाउन सकेनन् । गणतन्त्रपछि तिनै विनोद चौधरी कहिले कांग्रेस त कहिले एमालेबाट सांसद भए । व्यापारीले नाफा–नोक्सानको हिसाब गरेर पसल चलाएजस्तै राजनीतिलाई पनि केही पात्रले नाफा घाटाको व्यवसाय बनाएकै कारण यो व्यवस्था बद्नाम भएको हो भन्न अब ढिलाइ गरिनुहुन्न ।
(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू