भन्ने बेलामा युवा, बन्ने बेलामा बूढा

भन्ने बेलामा युवा, बन्ने बेलामा बूढा

‘जताततै एउटै रोग– नबितुञ्जेलसम्म नमेटिने सत्ताको भोक’ भन्ने मान्यता स्थापित गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अझै पनि लागि परेकै देखिन्छ । एकातिर सर्वसाधारणमा दल र तिनका नेताप्रति वितृष्णा बढ्दो छ भने अर्कोतर्फ देश विकासले गति लिन नसकेको अवस्था छ । 

२०४६ सालको ऐतिहासिक जनआन्दोलनपश्चात् केन्द्रीय राजनीतिमा एकाएक देखिएका शेरबहादुर देउवाले वि.सं. २०४९ देखि २०५१ सालसम्म गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गृहमन्त्रीको जिम्मेवारी निभाए । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकार ढलेपछि वि.सं. २०५२ सालमा उनै देउवा पहिलो पटक प्रधानमन्त्री भए । दरबार हत्याकाण्डपछि दोस्रो पटक प्रधानमन्त्री बन्न पुगे । २०५९ सालमा उनैले माओवादी समस्या समाधानका निम्ति भन्दै आपतकाल घोषणा गरे । तेस्रो पटक २०६१ सालमा र चौथो पटक २०७४ सालमा पटक पटक प्रधानमन्त्री भएका देउवाले पाँचौँ पटक २०७८ सालमा सर्वोच्च अदालतको आदेशबमोजिम पुनः सत्ता चलाए । ज्योतिषीको हवाला दिँदैं केपी ओलीसँग पोहोर असार १७ को ७ बुँदे सम्झौताबमोजिम अर्को असारमा छैंटौँ पटक प्रधानमन्त्री बन्ने तयारीमै थिए । यसैबीच, जेनजी आन्दोलनले उनको सत्तारोहणलाई धक्का लगाएको छ । हाल ८२ वर्षका देउवाले सत्ताकै निम्ति गिरिजाप्रसाद कोइरालासँग ०५९ सालमा विद्रोह गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । ०७३ सालमा सुशील कोइरालाको निधनपछि कांग्रेसको नेतृत्वमा आएका देउवा अहिलेसम्म कायमै छन् । दोस्रो पुस्तालाई नेतृत्व सुम्पने छेकछन्द देखाएका छैनन् । जबकि उनले सत्ता र पार्टीमा चलखेल गर्दाको सक्रिय समयलाई ख्याल गर्ने हो भने दुई पुस्ताले भोटो फटाउने बेला भइसकेको छ ।

वामपन्थी दलहरूमध्ये सबैभन्दा ठूलो एमालेको वर्तमान नेतृत्वले पनि गजबकै काम गरेको छ । ओलीलाई जेनजी आन्दोलनले सत्ताच्युत गरे पनि पार्टी नेतृत्वबाट हटाउन भने नसक्ने नै देखिएको छ । विदेशी षड्यन्त्रले आफूलाई हटाएको भन्दै आन्दोलनमा जाने तयारी चल्दैछ । २००९ सालमा जन्मेका ओलीले १४ वर्ष झापा आन्दोलनका कारण जेल बसेर २०४४ सालमा छुटकारा पाएका थिए । ०४९ सालमा पार्टी केन्द्रीय कमिटी सदस्य बनेका उनले झापाबाट ०५१ मा सांसद निर्वाचित भए यता मनमोहन अधिकारीको गृहमन्त्री हुँदै २०७२ र २०७४ सालमा प्रधानमन्त्री खाइसकेका छन् । पुनः प्रधानमन्त्री हुने अवसर पाएका उनमा देखिएको चरम व्यक्तिवादी चरित्र र नेतृत्व कब्जा गर्ने व्यवहारका कारण कम्युनिष्टहरु पुनः विभाजित हुन पुगेका छन् । ओली २९ वर्षदेखि लगातार सत्तामा छन् । 

एकै जना मान्छे त्यसरी लगातार सत्तामा टाँसिइरहँदा बाजेदेखि नातीको पालोसम्म हडप हुन्छ । यसो हुँदा युवा पुस्ताले कहिले र कसरी सक्रिय राजनीतिक जीवन बिताउने भन्ने स्वभाविक प्रश्न उठ्ने गरेको छ । आफैं आजन्म पद ओगट्ने र म झोले हुँ भन्दै लेख्न पनि लगाउने  कुराले राम्रो सन्देश दिएको छैन । 

शंकर पोखरेलसमेत लगातार नेतृत्वमा भए पनि कार्यकर्ता र जनतासँग घुलमिल हुनसक्ने बानीव्यहोराको कमी छ । महेश बस्नेत दादा नै भए पनि दुई चार जनालाई जतिखेर पनि वरपर लिएर हिँड्न सक्ने नेताका रूपमा लिइन्छ । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे होटलमा भाँडा माझ्ने मजदुर हुन् वा कालिमाटीमा तरकारी लोड अनलोड गर्ने भरियाहरू– सबैसँग हात मिलाउँदै हिँड्छन् । त्यसैले त उनलाई धादिङ्गेहरूले भोट हाल्दै आएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आजन्म पदभोगी हुन् । बन्न नपाउँदै पुरानै पाराको भन्न थालिएको रवि लामिछानेको घण्टीको अवस्था झन् नाजुक छ । 

हुँदाहुँदा जेनजी आन्दोलनले स्थापित गरेका, नाम चलेका र स्वतन्त्र भनिएका व्यक्तिहरूको उमेर पनि बूढाखाडाकै छ । दलहरूलाई किनारमा राखेर चुनाव गराउने सुशीला कार्कीको उमेरले सात दशक नाघेको छ भने एकादुई बाहेक अन्य सबै जेन एक्स र सोभन्दा पुरानै पुस्ताका मन्त्री छन् । जिम्मेवारी नपाउँदाको लोकप्रियता र व्यवहारिक कसीमा घोटेपछि पाइने समर्थनको अन्तर बुझ्ने अवसर यो निर्दलीय सरकारका कामकाजले दिने नै छ । 

(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू