जेन-जीको नाममा धम्क्याउने गुरुङ पक्राउ
‘सानु भाई’ भनिने गुण्डा नाइके युवराज गुरुङ पक्राउ परेका छन् । उनलाई प्रहरीले टोखाबाट नियन्त्रणमा लिएको हो ।
कुनै बेला कुमार घैटेको दाहिने हात मानिने गुरुङ साउन १५ गते मात्रै ठमेलको एक दोहोरी साँझमा लफडा गरेको आरोपमा समातिएका थिए । दुई हप्ताको हिरासत बसाइपछि अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
साढे दुई महिनाभित्रै उनी दोस्रो पटक पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गुरुङले जेन-जी प्रदर्शनको फाइदा उठाउँदै केही व्यवसायीहरुलाई धम्की दिएका थिए ।
‘उनले आफूलाई जेन-जी भन्दै केही व्यवसायीसँग रकम असुल्ने प्रयास गरेका रहेछन्, धम्की पाउने व्यवसायीले जाहेरी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ’, एक प्रहरी अधिकृतले जनआस्थासँग भने ।
घैटे प्रहरी इन्काउन्टरमा मारिएपछि आफैलाई समूहको नाइके मान्दै आएका गुरुङ पटके कैदी हुन् । उनी ठमेलकै ओम्निया काण्डमा पनि पक्राउ परेर धरौटीमा छुटेका थिए ।
टिप्पणीहरू