अप्ठेरोमा परेका यात्रु बोकेको न्यारोबडी भैरहवाबाट काठमाडौंमा
अविरल वर्षा र बाढी पहिरोका कारण भैरहवामा अलपत्र परेका सयौँ यात्रु नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौँ आइपुगेका छन् ।
दशैँ बिदा र विभिन्न कामका लागि भैरहवा पुगेकाहरू बदलिएको मौसम र उडान अवरुद्ध हुँदा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा रोकिएका थिए । सरकारले उनीहरुलाई आज नेपाल एयरलाइन्सको ३२० जहाजबाट उद्धार गरेको हो ।
निरन्तर वर्षाले देशका विभिन्न जिल्लामा बाढीपहिरो निम्त्याउँदा सडक र हवाई यातायातमा ठूलो अवरोध भएको थियो । भैरहवामा सामान्य अवस्थामा दैनिक १५ भन्दा बढी उडान हुने गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दुई दिनसम्म उडान पूर्ण रूपमा ठप्प हुँदा ७०० भन्दा बढी यात्रुहरू अलपत्र परेका थिए ।
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता श्याम किशोर साहले दिउँसो ३:४५ बजे काठमाडौँबाट भैरहवामा अवतरण गरेको नेपाल एयरलाइन्सको न्यारो बडी ए-३२० विमानले ७६ जना यात्रु लिएर आएको बताए । सोही विमानले १५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको हो ।
सरकारले उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी, वैदेशिक रोजगारीमा जानुपर्ने र अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको प्रवक्ता साहले जानकारी दिए । काठमाडौँ-भैरहवा पाँच हजार र भैरहवा-काठमाडौँका लागि सात हजार भाडाडर तोकिएको थियो, जुन सामान्य भन्दा कम हो ।
टिप्पणीहरू