प्रधानमन्त्रीको त्यो बोली, जसले आफैँलाई अप्ठेरो

प्रधानमन्त्रीको त्यो बोली, जसले आफैँलाई अप्ठेरो

जिम्मेवार व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिँदा सय पटक सोच्नुपर्छ भनिन्छ । नत्र एक दिन आफ्नो बोली आफैँलाई घाँडो बन्न सक्छ । प्रधानमन्त्री सुशीला कार्कीलाई यतिबेला यस्तै भएको छ । 

भ्रष्टाचार रोक्न पाँच दिनको समय काफी हुने पुरानो अभिव्यक्तिले कार्कीलाई अफ्ठ्यारो पारेको हो । ०७५ पुष २६ गते श्रीमान दुर्गा सुवेदीलाई समेत छेवैमा राखेर एउटा मिडियालाई लामो अन्तर्वार्ता दिँदै उनले 'चुट्कीको भरमा' भ्रष्टाचार रोक्ने बताएकी थिइन् । अहिले आफैँ सरकार प्रमुखको कुर्सीमा रहेकी कार्कीले पाँच दिन हैन एक महिना हुन लाग्दा पनि भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चालेकी छैनन् । 

‘पाँच जना मान्छेले यदि देशको भ्रष्टाचार रोक्छु भन्यो भने पाँच दिनमा रोकिन्छ, खुला छाडिदिएर न भ्रष्टाचार भइरहेको छ’, उनले त्यतिबेला भनेकी थिइन्, ‘नियन्त्रण गर्ने हो भने कसरी भ्रष्टाचार हुन्छ भन्या, टुँडिखेलमा ल्याएर कारवाही गर्न थालियो भने भ्रष्टाचार आफै रोकिन्छ ।’

आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म न भ्रष्टाचारीलाई टुँडिखेलमा उभ्याएर कारवाही गरेको देखिन्छ, न कुनै नीतिगत निर्णय ! उनकै भनाइलाई आधार मान्ने हो भने अहिले उनीसँग पाँच जनामात्र होइन ७ जना अब्बल भनिएका व्यक्ति (मन्त्री) छन् । 

तर, सरकारले त्यसतर्फ 'सिन्को नभाँच्दा' उनलाई सत्तामा पुर्याउने जेन-जी युवाहरू नै असन्तुष्ट हुन थालेका छन् । विभिन्न समूहमा रहेका जेन-जीका प्रतिनिधिहरूले हरेक दिनजसो बालुवाटार पुगेर भ्रष्टाचारीलाई कारवाही गर्न दबाब दिने गरेको खबर सार्वजनिक भैरहेको छ ।

टिप्पणीहरू