राजनीतिक दलहरुलाई आयोगको निम्तो
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई बोलाएको छ ।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्य जितेका दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा सहभागी हुन आयोगले आज पत्राचार गरेको छ । छलफलको मिति असोज ३० गते तोकिएको आयोगले जनाएको छ।
आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत दलहरूलाई निम्तो पठाइएको छ।
अस्ति निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको आयोगले राजनीतिक दलहरूसँगको छलफलपछि मात्र निर्वाचन कार्यक्रमलगायतका विषयमा अन्तिम निर्णय लिने तयारी गरेको हो। आयोगकी आयुक्त डा. जानुका तुलाधरका अनुसार, छलफलको उद्देश्य निर्वाचन प्रक्रिया सुचारु गर्न आवश्यक समन्वय र साझा समझदारी निर्माण गर्नु हो।
प्रतिनिधिसभा निर्वाचन गराउने प्रयोजनका लागि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भने अहिलेसम्म राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद गरेको छैन। बरु, जेन–जी समूहका अगुवा र बालुवाटार नजिकका प्रतिनिधि सुधन गुरुङले पुराना दलहरूलाई आगामी निर्वाचनमा भाग लिन नदिने चेतावनी दिँदै आएका छन्।
टिप्पणीहरू