सामान्य बन्दै बाँके

सामान्य बन्दै बाँके

बाँकेमा केही दिनअघि चर्केको धार्मिक विवाद बिस्तारै मत्थर भएको छ । नेपालगञ्जलगायत जिल्लाका विभिन्न क्षेत्रको अवस्था शान्त भएको बताइन्छ । 

बडा दसैँको अन्तिम दिन देवी विसर्जनको क्रममा दुई समुदायका युवाबीच झडप भएपछि बाँके तनावग्रस्त बनेको थियो। तर सुरक्षा निकायको सक्रियता र स्थानीय नेतृत्वको समन्वयपछि विवाद अहिले साम्य बन्दै गएको बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए। 

उनका अनुसार केही व्यक्तिलाई पक्राउ गरिएको छ भने केहीलाई मिलापत्र गराएर छाडिएको छ। “स्थिति अहिले पूर्ण रूपमा नियन्त्रणमा छ,” एसपी जिसीले भने।

सुरक्षास्रोतका अनुसार केही उपद्रवी मानसिकताका व्यक्तिहरूका कारण घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। झडपका क्रममा केही प्रहरी र सर्वसाधारण घाइते भए पनि गम्भीर क्षति भने भएको छैन।

घटनापछि जिल्लाका तीन स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो। तत्कालै व्यापक प्रहरी परिचालन र सुरक्षात्मक कदम उठाइएकाले ठूलो घटना हुनबाट बाँकेको प्रशासनले जोगाएको बताइएको छ।

नेपालगन्जमा देवी विसर्जनका बेला विगतमा पनि स–साना विवाद हुने गरेको भए पनि यस वर्ष सुरक्षा निकायले उच्च सतर्कता अपनाएकाले स्थिति छिट्टै नियन्त्रणमा आएको हो।

यसैबीच, शनिबार बिहान प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएको छ। बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, जनप्रतिनिधि, सुरक्षा अधिकारी र हिन्दु–मुस्लिम समुदायका अगुवाहरू सहभागी थिए।

बैठकले शुक्रबारको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउने र दुवै समुदायका अगुवाहरूले त्यसमा सहयोग गर्ने सहमति जनाएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

टिप्पणीहरू