आगो झोस्न उक्साउने बहुरुपियाहरू अनेक
भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले थालेको सामान्य प्रदर्शनले उग्ररुप लिँदै राज्य सत्ता नै पल्टिएपछि यतिबेला जेन–जीका नाममा अनेक स्वार्थ समूह सक्रिय हुने क्रम बढेको छ । भदौ २३ को प्रदर्शन र भोलिपल्टको वितण्डामा पर्दा पछाडि बसेर खेल खेल्नेहरू विभिन्न रूपमा प्रकट भैरहँदा एकपछि अर्को माग तेस्र्याउने क्रम पनि जारी छ ।
प्रधानमन्त्री र मन्त्री पदका लागि उतिबेला जंगीअड्डामा लाइन लागेकाहरू अहिले सिंहदरबार र बालुवाटारमा व्यस्त रहँदा केही जेन–जीहरू भने माइतीघरतिर कुदाकुद गरेको देखिन्छ । जेन–जीको एउटा समूह भने संवैधानिक निकायका पदाधिकारीलाई हटाउने अभियानमा लागेको छ ।
विभिन्न वाद र विचारमा आवद्ध युवाहरू जेन–जी एलायन्सको नाममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईलाई हटाउन कस्सिएका हुन् । सार्वजनिक मञ्चबाट मौखिक रुपमा राजीनामा दिन दबाब बढाउँदै आएको उक्त समूहले अस्ति अख्तियारको मुख्यालय पुगेर औपचारिक निवेदनसमेत दर्ता गराएको छ ।
पत्रमा जेन जी आन्दोलन भ्रष्ट्रचारविरुद्धको अभियान रहेकाले त्यसमा सहयोग गर्न प्रमुख आयुक्तसहित सबैलाई आग्रह गरिएको छ । आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइविना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठेको भन्दै यसलाई नै राजीनामा मागको आधार बनाएको देखिन्छ ।
अस्ति पत्र बुझाउन गएको टोलीले अख्तियार प्रमुखलाई तत्काल पद छोड्न सुझाउँदै अन्यथा सडक प्रदर्शन गर्ने चेतावनीसमेत दिएको थियो । टोलीमा विभिन्न समूहका प्रतिनिधि थिए । तीमध्ये एक हुन् अमित खनाल ।
केपी ओलीको पालामा नियुक्त भएकाले अख्तियार प्रमुख राईको नैतिकता र कार्य क्षमतामाथि प्रश्न उठाउने खनाल आफैँ पनि राजनीतिक दलका प्रतिबद्ध कार्यकर्ता हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)मा केन्द्रीय सदस्य छन् ।
गत फागुनमा भएको नेसपाको राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका खनाल बाबुरामको सचिवालयमा पनि कार्यरत छन् । बुटवल स्थायी ठेगाना भएका २३ वर्षे इञ्जिनियर उनलाई बाबुरामले प्रेस तथा आइटी विभाग हेर्नेगरी सचिवालयमा नियुक्त गरेका थिए ।
यसबारे फेसबुकमा स्टाटस लेखेर डाक्टर बाबुरामले त्यतिबेला नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको बताएका थिए । जेन–जी एलायन्सको पाँच अगुवामध्ये एक भनिएका अमितले सम्भवतः बाबुरामको सचिवालय र नेसपाको केन्द्रीय जिम्मेवारीमै छन् । किनभने उनले दलीय आबद्धता त्यागेको सार्वजनिक घोषणा सुनिएको छैन ।
अमितमाथि भदौ २४ गते पेरिसडाँडास्थिति माओवादी मुख्यालय जलाउन उक्साएको आरोप पनि छ । त्यसदिन आगो लगाउन पुगेकाहरुको फोटो खिच्दै फेसबुकबाट तुरुन्त उपस्थित हुनका लागि आह्वान गरेको आरोप उनलाई लागेको हो ।

टिप्पणीहरू