भदौ २४ को भन्दा ठूलो प्रदर्शनीकाे चेतावनी
जेन–जीको अर्को एउटा समूहले आफ्ना सदस्यहरुलाई तत्काल रिहा नगरे सडकमा उत्रिने चेतावनी दिएको छ । एनटेक्स–जेट टिमले आफ्ना दर्जनौं सदस्यलाई तत्काल नछोडेमा गत भदौ २३ र २४ गतेको भन्दा ठूलो प्रदर्शन हुने जनाउँदै सरकारलाई खबरदारी गराएको छ ।
टिमले विज्ञप्ति जारी गर्दै आफ्ना सदस्यहरुलाई पक्राउ गर्नु मानव अधिकार र लोकतन्त्रविपरीत रहेको बताएको छ । ‘दर्जनौं आन्दोलनकर्तालाई मानव अधिकार र लोकतन्त्रविपरीत धरपकड गरेर गिरफ्तार गरेकोमा हामी एनटेक्स–जेट घोर आपत्ति गर्दछौं’,विज्ञप्तिमा भनिएको छ,‘यथाशीघ्र आन्दोलनकर्ताहरुलाई रिहा नगरे भदौ २३ गते र २४ गतेको भन्दा ठूलो आन्दोलन हुने खत्रा छ । यथाशीघ्र जेन जीको मागलाई सम्बोधन गरिदिन यो सरकारलाई खबरदारी गर्दछौं ।’
हिजो राजधानीको माइतीघर मण्डलामा प्रदर्शनका लागि टिमले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग असोज २१ गते अनुमति मागेको थियो । सुरक्षाको कारण देखाउँदै प्रशासनले अनुमति दिन अस्वीकार गरेकोमा टिम सदस्यहरु आदेशको अवज्ञा गर्दै आन्दोलनमा उत्रिएका थिए ।
उनीहरु आन्दोलन गर्न बिहान माइतीघरमा भेला भएकोमा प्रहरीले डा.निकोलस भुसाल, सुरेन्द्र घर्ती, एसपी शाह, प्रदीप भट्टराई, सुनिल सिंह, हरि अधिकारीलगायत दर्जनौंलाई पक्राउ गरेको बताइन्छ । मेडिकल परीक्षणको रिपोर्टमा डा.भुसालको पिसाबमा गाँजा भेटिएपछि प्रहरीले सुधार केन्द्र पठाए पनि राति नै छुटेका छन् ।
एनटेक्स–जेट टिमको विज्ञप्तिमा लेखिएको नेपाली भाषाको व्याकरण, शब्द र शुद्वाशुद्वीको अवस्था निकै दयनीय छ । नयाँ पुस्ताले राज्यसमक्ष विभिन्न माग राखेपनि उनीहरुको नेपाली भाषा ज्ञान कुन अवस्थामा रहेछ भन्ने यो विज्ञप्तिबाट पनि छर्लङ्ग हुन्छ ।
टिप्पणीहरू