सर्वोच्चमा रिट निवेदन दर्ता र सुनुवाइ पर्सिदेखि
सर्वोच्च अदालतले पर्सिदेखि रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया थाल्ने भएको छ । भदौ २३ र २४ गतेको जेन जी प्रदर्शन तथा त्यसक्रममा भएको आगजनी, तोडफोड र लुटपाटका कारण रोकिएको न्यायिक सेवा अब क्रमिक रूपमा सञ्चालन गर्ने तयारी छ ।
सर्वोच्चका अनुसार पहिलो चरणमा पर्सिदेखि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गतका निवेदनहरू दर्ता र सुनुवाइ गरिनेछ।
‘आज मिति २०८२ असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार दर्ता हुने रिट निवेदन तथा सो सम्बन्धी दफाहरूअन्तर्गतका निवेदनहरू मिति २०८२ असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ गरिनेछ,’ सर्वोच्चद्वारा जारी सूचनामा उल्लेख छ।
अन्य न्यायिक सेवाहरू भने पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने सर्वोच्चले जनाएको छ।
टिप्पणीहरू