खिचडी मात्र पकाउने कि राहत दिने ?
असोज १८ गते आएको वर्षाले इलामलाई नविर्सिने पीडा दिएको छ । ४० जनाले ज्यान गुमाए । २६ भन्दा बढी घाइते भए । तीन सय घरपरिवार घरबारविहीन बनेका छन् । एक हजार परिवार विस्थापित भएका छन् । पुलपुलेसा सडकहरुको क्षति यकिन हुन सकेको छैन । मेची राजमार्गको राजदुवाली सडक अवरुद्ध हुँदा ११ औं दिनसम्म इलाम सडक सञ्जालबाहिर छ । ९ दिनसम्म सडक डिभिजन कार्यालयले राजदुवाली राजमार्गमा मात्र सारा शक्ति खर्च गर्यो । अन्य वैकल्पिक मार्गहरु खुलाउने कुरामा ध्यानै दिएन । यसले गर्दा अहिले पनि इलाम सडक सञ्जालसँग जोडिन सकेको छैन । लामो समयदेखि सडक अवरुद्ध हुँदा दशैंमा घर र आफन्तकोमा पुगेका इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले ठूलो सास्ती व्यहोर्नु परिरहेको छ । विरामीहरुलाई पनि उस्तै समस्या छ । एम्बुलेन्स पार गर्ने अवस्था नहुँदा गम्भीर विरामीलाई उपचारमा लैजान समस्या छ । ग्याँस र पेट्रोलियम पदार्थको अभाव छ ।
सडक डिभिजन कार्यालय र प्रशासनले भने जिल्ला सडक सञ्जाल विच्छेद नभए जसरी सामान्य अवस्थामा झैं माइखोलाको राजदुवाली खण्डमा मात्र काम गरिरह्यो । सो सडक खण्ड बीरबलको खिँचडी बन्यो । फास्ट ट्रयाक इलाम–भञ्ज्याङ–बेलासे सडकमा रहेको माइखोलाको पुल समेत भाचिएकाले इलामलाई जोड्ने एउटा संभावित मार्गको संभावना पनि अन्त्य भएको छ । अन्य वैकल्पिक मार्ग तिल्नेकी हुँदै मेची राजमार्गको गोदकको सिमल गोलाइको सडक खुलाउने प्रयास ९ दिनसम्म गरिएन । अन्य समयमा पनि भासिरहेको सडक अहिले तीब्र रुपमा भासिरहेको छ । तर, ९ दिनसम्म पनि विकल्प खोजिएन । विपत्तिको ८ दिनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन गरेको पछिल्लो दिन मात्र तत्काल सडक सञ्चालन गर्न नसकिने भन्दै वैकल्पिक सडकको खोजि गरियो । १० औं दिनदेखि वैकल्पिक मार्ग सञ्चालन गर्नका लागि इलाम नगरपालिका–१० र माइजोगमाई–४ जोड्ने जोगमाई खोलामा कलर्भट निर्माण गर्ने काम शरु गरियो । तर अर्को दिनसम्म आवश्यक ह्युमपाइप समेतको अभावमा दुईदिनसम्ममा पनि डाइभर्सन निर्माण हुन सकेन ।
नाम मात्रको संकटग्रस्त क्षेत्र
बाढी पहिरोले इलाममा ठूलो क्षति पुर्याइएपछि सरकारले असोज २३ गते जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्यो । यो घोषणापछि जिल्लामा स्रोत साधनको अभाव नभई सडक सञ्जाल खुलाउने, अतिआवश्यक वस्तुको आपूर्ति हुने, मर्मत तथा पुर्ननिर्माणको काम युद्धस्तरमा हुने अपेक्षा गरिएको थियो । यतिको लामो समय जिल्लालाई सडक सञ्जालमा जोड्नका लागि पनि पर्याप्त स्रोत साधन उपलब्ध नभएपछि भने जिल्लाबासी निराश बनेका छन् । पुर्नस्थापना र पुर्ननिर्माणलाई हेर्दा भने संकटग्रस्त क्षेत्र घोषणा औपचारिकताका लागि मात्र गरिएको जस्तो देखिएको छ । मेची राजमार्ग जस्तो तीन जिल्लाको ‘लाइफलाइन सडक’ समेत अहिलेसम्म खुल्न नसक्नु यसको ज्वलन्त उदाहरण हो । वैकल्पिक मार्ग खुलाउने भनेर जोगमाई खोलामा निर्माण गरिएको डाइभर्सनमा ह्युमपाइपको अभाव भएको छ । सडक डिभिजन कार्यालयमा रहेका १० थान ह्युमपाइप खोलामा पुर्याएर पनि थप ह्युमपाइप अभाव भयो । सडक कार्यालय र प्रमुख जिल्ला अधिकारीले आइतबार विहाननै डाइभर्सन निर्माण स्थाल हेरे काम थाल्ने भने पनि पर्याप्त डाइभर्सन जुटाउने तत्काल पहल गरिएन । बाटोसमेत अवरुद्ध रहेको पाँचथरबाट ह्युमपाइप ल्याउने प्रयास गरिएको छ । जिल्लाभित्रै रहेको ह्युमपाइप जुटाउने र झापा तर्फबाट ल्याउने पहल नगरिएकाले सडक खुलाउन ढिला भएको स्थानीयको गुनासो छ । हेर्दा काम भइरहेको देखिए पनि सहकार्य र व्यवस्थापनको अभावमा संकटको समयमा जस्तो नभई सामान्य अवस्थामा जसरी मात्र काम भइरहेको स्थानीय बताउँछन् । मेशिन (डोजर) को अभाव रह्यो । त्यसको भोलिपल्ट सोमबार मात्र काम थालियो । मेशिन नभएपछि स्थानीय एशियन हाइड्रोपावरको मेशिन प्रयोग गरियो । छिमेकी जिल्लाबाट आवश्यक साधनसमेत ल्याएर भए पनि निर्माणको काम गर्नुपर्ने भएपनि त्यो तदारुकता समेत देखिएको छैन ।
मन्त्री आए सडक हेरेर गए तर बनेन
मन्त्री कुलमान घिसिङले बाढी पहिरोले क्षति पुगेको माइखोलाको राजदुवाली हुँदै मेची राजमार्गको इलाम नगरपालिका वडा नं. १ को मील गोलाइसम्मको सडक अवलोकन गरेका थिए । शनिबार आएका उनले राती सडक खुल्ला गर्न र अर्को दिनदेखि दैनिक चार घण्टा सडक खुलाउन निर्देशन पनि दिएर गए । तर, राजदुवाली खण्ड भासिन नछोडेपछि अहिलेसम्म सो सडकमा गाढी चल्ने सकेको छैन ।
विस्थापितलाई भेटे, मृतकका आफन्तलाई भेटेनन्
मन्त्री घिसिङ दलीय सरकारका मन्त्री जसरीनै लावालस्कर लाएर इलामको बाढीपहिरो क्षति अवलोकन गर्न इलाम आएका थिए । उनले इलामको क्षतिग्रस्त राजदुवाली राजमार्गको अवलोकन गरेर नजिकै रहेको माइखोलाको टप्पुका विस्थापित परिवारलाई भेटे । तर, सदरमुकामका नजिकै इलाम नगरपालिका ६ का परिवारका पाँच जना गुमाएका परिवार र अर्को बालगाउँको बेपत्ता परिवारलाई भने समय अभाव भएको भन्दै भेटेनन् ।
टिप्पणीहरू