थरीथरीका जेन-जी को सक्कली, को नक्कली ?

थरीथरीका जेन-जी को सक्कली, को नक्कली ?

सिडिओबाट जेनजी आन्दोलनको स्वीकृति लिने सबल गौतम, पुरुषोत्तम यादव, मिराज ढुंगाना, रक्षा बम हुन् कि सुदन गुरुङ– को सक्कली खुट्याउन निकै गाह्रो छ । भर्खरै बा अर्थात् केपी शर्मा ओलीलाई छोडेका ज्यास्मिन ओझाले पनि जेनजी भन्दै जिल्लाका मालपोत, नापी कार्यालयमा प्रतिनिधित्वका निम्ति ज्ञापनपत्र बुझाएपछि असली र नक्कली जेनजीको प्रसंग चर्चामा आउन थालेको हो । त्यसो त जेनवाईका सुदन गुरुङले आन्दोलन हाइज्याक गरेको आरोप लाग्न थालेको छ । सेना र राष्ट्रपति कार्यालयसमेतले गुरुङलाई नै सक्कलीको मान्यता दिएपछि अन्यले जेनजी हाइज्याक भएको बताउन थालेका छन् । १३ देखि २८ वर्ष उमेर समूहको पुस्तालाई जेनजी भनिए पनि ७३ वर्षीया प्रधानमन्त्री सुशीला कार्की र ३८ वर्षीय सुदन गुरुङ जेनजीको हर्ताकर्ता बनेका छन् ।

एकथरी विश्लेषकका अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि भारतीय सत्ता संस्थापनलाई हाइसञ्चो भएको छ । जेनजीका नाममा जे भए पनि खासै चासो देखिएको छैन । हिजोका दिनमा नक्कली युवा संघ, नक्कली वाइसिएल र तरुण दल बनेर ठगेजस्तै अहिले जेनजीका नाममा जसले पनि थर्काउने वातावरण तयार भएको छ । अराजकता फैलिँदै जाने सम्भावना पनि देखिएको छ । सुरुवाती अवस्थामै नेपाली सेनालाई को असली रु जेनजी भन्नेहरूको कति वटा समूह छ खुट्याउन गाह्रो परेको जगजाहेर नै छ । प्रधानसेनापतिले पनि को के हो कित्ता क्लियर गरेर वार्तामा आउनुसमेत भनेका थिए । पत्रकार भनेकै ऋषि धमला भन्ने भाष्य खडा गर्न खोजिएझैं जेनजी भनेकै सहकारी ठगीमा थुनिएका रवि लामिछाने, बैंक ठगीमा आरोपित दुर्गा प्रसाईंंसँग नजोडियोस् भन्ने कुरामा पनि असली जेनहरूले ध्यान दिनुपर्ने बेला छ 

फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने अख्तियारी पाएको सरकारले लोकप्रिय बन्नका निम्ति जे–जस्ता निर्णय पनि गर्नतिर लाग्नु हुन्न । यसैबीच, जेनजी आन्दोलनका आडमा नख्खु जेलमा आक्रमण र आगजनी गरी रवि लामिछानेलाई विश्वविजेता जसरी बाहिर निकाल्ने रास्वपा प्रवक्ता मनिष झा यतिखेर एकाएक गायब हुन पुगेका छन् । त्यही घटनापछि मुलुकभरका करिब १४ हजारभन्दा बढी कैदीबन्दीले जेल तोडेर निस्कन सफल भएका थिए । त्यसो त रास्वपाकै डा। तोसिमा कार्की संसद भवन आगजनी गर्नेहरूमाझ रमाउँदै हिँडेको भिडिओ सार्वजनिक भएको छ । जेनजीका नाममा यस्तो काम नहोस् भन्ने चाहना असली जेनजीहरूले राखे पनि दलगत स्वार्थ बोकेका र विदेशी स्वार्थको गोटी बनेकाहरूले युवापुस्तालाई बदनाम गरेको अवस्था छ ।

अहिलेसम्म जेनजी उमेर समूहका र आन्दोलनमा भिड्ने कोही पनि मन्त्री भएका छैनन् । आन्दोलनको क्रममा ज्यान गुमाएका जेनजीप्रति सहानुभूति दर्शाउने सुशीला कार्की दलहरूको समर्थनसहित प्रधानमन्त्रीको भूमिकामा छिन् । रामेश्वर खनाल विषयविज्ञ भए पनि जेनजीबारे विवादास्पद शब्द नबोलिकनै मन्त्री भएका हुन्् । जेनजी आन्दोलनका कारण शासनमा तात्विक अन्तर केही भएको छैन । दल र निर्वाचित प्रतिनिधिहरूलाई बाहिर राखेर २–४ जना विज्ञलाई मन्त्री बनाउनुबाहेक अन्य उपलब्धि छैन । संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार र विभिन्न मन्त्रालयलगायत देशैभर भएको आगजनीको कारण समस्या झनै थपिएको छ । यसले निर्धारित समयमा चुनाव गराउन गाह्रो हुन सक्ने देखिन्छ ।

टिप्पणीहरू