यो सरकारका पनि कुरा मात्रै
सरकारले फेरि आधा दर्जन विदेश भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । हिजो बसेको क्याबिनेट बैठकले २० वटा विभिन्न निर्णय गरेमध्ये छ वटा विदेश भ्रमणसँग सम्बन्धित देखिन्छ । त्यसमध्ये सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विदेश भ्रमण पनि एक हो ।
मन्त्री खरेलको गणतन्त्र कोरियाको आगामी भ्रमण स्वीकृत गरिएको छ । आउँदो कात्तिक २६ गते सिओलमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन खरेलले अनुमति पाएका छन् ।
हिजैको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सिद्धिविक्रम शाह र महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई भारत पठाउने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय सचिव विश्वबाबु पुडासैनीको भियतनाम भ्रमण पनि तय भएको छ ।
सरकारले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई इण्डोनेशिया, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई लण्डन पठाउँदै छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि असोज ७ गते अर्थ मन्त्रालयले जारी गरेको खर्च कटौती र मितव्ययिताको परिपत्रमा अत्यावश्यक अवस्थामा मात्रै विदेश भ्रमण गरिने उल्लेख छ । विदेशी मुद्रा खर्चमा मितव्ययिता ल्याउन विदेशस्थित नेपाली राजदूतावास र नियोगका अधिकारी तथा कर्मचारीलाई मुलुकको तर्फबाट प्रतिनिधित्व गराइने सरकारको दाबी छ । तर, पछिल्लो एक महिनामा त्यसरी प्रतिनिधित्व गराइएको कार्यक्रम मुश्किलले मात्रै भेटिन्छ ।
टिप्पणीहरू