कर्मचारीले मागे बिचौलिया निकट सिईओ र अध्यक्षको राजीनामा

कर्मचारीले मागे बिचौलिया निकट सिईओ र अध्यक्षको राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं र सञ्चालक समिति अध्यक्ष हेमन्त बस्यालको नियुक्तिउपर छानबिन गर्न नेप्सेकै कर्मचारीहरूले माग गरेका छन् । नेप्से कर्मचारी संघले अर्थ मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा उनीहरूको नियुक्ति प्रक्रिया अपारदर्शी र कानूनविपरीत रहेको दाबी गर्दै छानबिनको माग गरिएको छ । अर्थमन्त्री यतिखेर विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका छन् ।

संघका अनुसार चापागाईंले नियुक्तिका क्रममा पेश गरेका अनुभवसम्बन्धी कागजात धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६(क) र अर्थ मन्त्रालयले २०८१ फागुन १२ गते प्रकाशित पदपूर्ति सूचनाबमोजिम छैनन् । 

संघले चापागाईंले मन्त्रालय र प्रमुख कार्यकारीबीच हुनुपर्ने कार्यसम्पादन सम्झौता हालसम्म नगरेको,  तलबभत्ता र अन्य सुविधा भने नियमितरूपमा लिएको आरोप लगाएको छ । साथै, दोस्रो बजारका समस्याहरू समाधान गर्न असफल भएको, कार्यालयको मुख्य चलानी किताब प्रयोग नगरी नक्कली चलानी किताब बनाएको र आधिकारिक लेटरप्याड तथा छापको दुरुपयोग गरेको आरोप पनि छ ।

संघका अनुसार उनी कार्यालय समयमा अनुपस्थित रहने, बिहान सबेरै वा राति लुसुक्क हाजिर गर्ने र “प्रि आईपीओ” को नाममा सर्वसाधारणलाई अनाधिकृत रूपमा सेयर बिक्री गर्ने कार्यमा संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।

त्यस्तै, सञ्चालक समिति अध्यक्ष बस्यालको स्वार्थ बाझिएको विषयमा पनि संघले प्रश्न उठाएको छ । बस्यालको ‘बस्याल एण्ड कम्पनी’ नामक प्राइभेट कन्सल्टेन्सी नेप्सेसँगै भुक्तानी विवादमा रहेको अवस्थामा उनी स्वयं नेप्से अध्यक्ष बन्नु स्वार्थसंघर्ष भएको संघको ठहर छ ।

संघले सोधेको छ, “नेप्सेको सीईओ छनोट प्रक्रियामा उम्मेदवार भई असफल भएको व्यक्ति त्यसभन्दा माथिल्लो पद, अर्थात् नेप्से सञ्चालन समितिको अध्यक्ष हुन सक्ने–नसक्ने ?”

त्यसैगरी, “एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका सीईओका रूपमा मासिक चार लाख तलब र अन्य सुविधा त्यागेर नेप्सेमा प्रतिबैठक २५ सय रुपैयाँ बुझ्ने गरी आउनुको नियत के हो ?” भन्ने प्रश्न पनि संघको छ । जेन–जी आन्दोलनका बीचमा देश संकटमा रहेका बेला हतार–हतार नेप्से अध्यक्षका रूपमा शपथ लिनु र कार्यकारीको रूपमा प्रस्तुत हुन खोज्नुलाई गम्भीर शंकास्पद कदम भनिएको छ ।

ज्ञापनपत्रमा बस्यालले कार्यालयको कार्यवातावरण बिगारेको, कर्मचारीलाई धम्काएको र कर्मचारीविरुद्ध गतिविधि सञ्चालन गरेको भनिएकोे छ । ती दुबै जना बिचौलिया दिपक भट्टका निकटस्थ सहयोगी रहेको कर्मचारीहरु बताउँछन् ।

टिप्पणीहरू