सिंहदरवारका सैनिक कमाण्डरको सरुवा
नेपाली सेनाले सिंहदरवारको सुरक्षामा खटिएकासहित केही अधिकृतलाई सरुवा र कमाण्ड नियुक्ति दिएको छ । असोज ३१ गते जारी सैनिक सचिव विभागको आन्तरिक सर्कुलरमा दुई जनालाई कमाण्ड नियुक्ति,एक जना लाई व्यवस्थापक अधिकृत नियुक्ति र तीन जनालाई सरुवा गरिएको छ ।
तीमध्ये भदौ २४ गतेको विध्वंशका बेला सिंहदरबारमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतलाई त्यहीँको नरसिंहदल गणमा आश्रय दिने प्रमुख सेनानी गणेश खड्का नम्बर २ बाहिनी अड्डा,धनकुटा पुर्याइएका छन् ।
नम्बर १ बाहिनी अड्डा,बालाजूका प्रमुख सेनानी सुदिपकुमार सिंहलाई भवानीबक्स गण र सुदूर पश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी बसन्तनाथ योगीलाई नरसिंहदल गणमा ल्याइएको छ ।
नम्बर ३ बाहिनी अड्डा पोखराका प्रमुख सेनानी खिलबहादुर रानालाई व्यवस्थापक अधिकृतको रुपमा सैनिक आवासीय महाविद्यालय,कैलाली लगिएको छ । भवानीबक्स गणका प्रमुख सेनानी तेजेन्द्र मगरलाई नम्बर ५ बाहिनी अड्डा र सैनिक आवासीय महाविद्यालय,कैलालीका शिव भडेललाई नम्बर २४ बाहिनी अड्डामा सरुवा गरिएको सेनाले जनाएको छ ।
टिप्पणीहरू