नेताहरूतिर राष्ट्रपतिले किन औंला ठड्याए ?
गत शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो तहका दलीय नेतालाई शीतलनिवास बोलाएर संवाद गरे । प्रधानमन्त्री सुशीला कार्कीसहित केही मन्त्री पनि त्यसमा सहभागी थिए ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल थिए । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी देखिए ।
उक्त भेलामा भएका रोचक प्रसंग सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदिश खरेलले सोमबार सम्पादकहरूलाई सुनाएका छन् । सुझाव लिन भन्दै बोलाइएका सम्पादकहरूले दलसँग संवादमा ढिलाइ भएको विषय उठान गर्नासाथ खरेलले शीतलनिवासको रोचक प्रसंग सुनाए ।
‘चलाखीपूर्ण तरिकाले संविधान जोगिएको कुरा राष्ट्रपतिले किन भन्नुभएको होला ?’ खरेलले भने, ‘राष्ट्रपतिले दलका नेतालाई चोर औँला देखाएर निर्वाचनको विकल्प छैन, संसद पुनःस्थापना गर्ने नभन्नु होला, त्यसले देश द्वन्द्वमा जान्छ भन्नुभयो ।’ खरेलले भने, ‘राष्ट्रपतिले यसै भन्नुभएको होला त ? त्यसभित्र केही न केही त छ नि, त्यसैले निर्वाचन हुन्छ ढुक्क हुनुहोस् ।’
(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू