एक कल फोन उठाइदिँदा सानो होइन्छ ?

एक कल फोन उठाइदिँदा सानो होइन्छ ?

सत्ता समीकरण नै उथलपुथल गर्ने गरी जेनजीहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनबारे एक जना सचिवले नयाँ खुलासा गरेका छन् । वर्षौंदेखि बेथिति, भ्रष्टाचार र मनोमानीको राजनीतिविरुद्ध जेनजीले आफूहरूलाई पनि सुनियोस् भन्ने मात्रै चाहेको उनले बताएका हुन् । 

‘घरमा केटाकेटीले चकलेट किन्दिनु भनेको बेलामा नकिन्दिएपछि रुन्छ नि ? हो, ठ्याक्कै त्यही प्रवृत्ति हो जेनजीको । यिनीहरूले वास्तवमा आन्दोलन नै गर्ने रहेनछन् । यिनीहरूको मनोविज्ञान ‘द गभर्मेन्ट द्याट लिसन्स टु अस’ भन्ने मात्रै रहेछ,’ सरकारी उच्च स्रोत भन्छ, ‘उनीहरूको मनोविज्ञानलाई तत्कालीन सरकारले पढ्न सकेन । अनि त्यो चाहना आन्दोलनमा रूपान्तरण भयो ।’ संसारमा विरलै हुने छोटो समयको सत्ता उलटपुलटपछि पनि जेनजीहरूले एकपछि अर्को गर्दै सरकारमा हिस्सा, दबाब र प्रभाव बढाउन खोजेका छन् । 

‘उनीहरूले हामीले बनाएको सरकार हो, माग भनेको बेलामा सुन्दिनुपर्‍यो भन्ने मात्रै छ । यो अब ओपन सरकार हो । अहिलेसम्म हामी कहीँ थिएनौं भन्नेमा छन्,’ सोही स्रोत भन्छ, ‘यसैले सरकारी मिटिङमा गएर सल्लाह दिँदा के बिग्रिन्छ र भन्नेमा छन् । जिल्लातिर नागरिकता वितरण गरिरहेको ठाउँमा कुनै सर्वसाधारणले गएर ‘यो टेबल राखेको मिलेन, यसलाई म मिलाइदिन्छु’ भनेर सहयोग गर्छु भन्न पाउँछ । विपद प्राधिकरणको मिटिङ हलमा विपद्लाई कसरी संवोधन गर्ने भनेर सुदन गुरुङले सुझाव दिएको कुरामा पनि त्यत्रो आपत्ति मान्न हुन्थेन ।’

कुनै अपरिचितको फोन रिसिभमात्रै गर्दा पनि उनीहरू खुशी हुने गरेका छन् । यस्तो कुनै नेताले गर्थेनन्,’ ती सचिवले भने, ‘उद्घाटन भाषण र अर्ति उपदेशमा घण्टौं बिताउन छाडेर एक घण्टीमा फोन उठाउनोस् उनीहरु दंग पर्छन् । जेनजीहरू तत्काल भेटेर समाधान निकाल्नुपर्‍यो भन्छन् । वार्ता गर्ने भए सम्बन्धित ठाउँमा आउनुस्, सरकारी संयन्त्रबाहेक बाहिर वार्ता हुँदैन भन्दा उनीहरू मान्छन् । अन द स्पट नै समस्या समाधान गरिदिने मान्छे उनीहरूले खोजेका हुन् ।’

प्रधानमन्त्रीसँग किन जंगिन्छन् जेनजी ?

अहिले प्रधानमन्त्रीसँग जेनजीहरू बेलाबेलामा जंगिँदै आएका छन् । उच्च सरकारी स्रोत भन्छ, ‘हामी त अदालतमा वकिलले बोलेका कुरा सुन्थ्यौँ । लास्टमा एक सेन्टेन्स बोलेर खुरुक्क हिँडिदिन्थ्यौँ । हामीलाई भाषण गर्नै परेन ।’ जेनजीले झगडा गरेको र धेरै बोलेको कार्कीलाई मन परेको छैन । 

‘अब यिनका कुरा सुनेर त्यहीं भाषण दिन मलाई आउँदैन । यी झगडा गर्छन्, सक्दिनँ म त यस्तो गर्न भन्नुहुन्छ । उहाँले इमान्दारीपूर्वक नै यस्तो भन्नुभएको हो । लहडमा फस्नुभन्दा नभेटी बस्न खोज्नुहुन्छ अनि जेनजीहरू उहाँसँग आक्रोशित हुन्छन्,’ स्रोतले भन्यो, ‘गत शनिबार राष्ट्रपति भवनमा भएको छलफलमा जेनजीले यो एनजिओले चलाएको सरकार भनेपछि उहाँ बम्किनुभयो नि ! उहाँको शैली यस्तै हो ।’ उच्च सरकारी स्रोतकाअनुसार भदौ २३ गते आन्दोलन गर्नुपूर्व जेनजीका ठूला माग नै थिएनन् । 

स्रोत भन्छ, ‘यसअघिका सरकारले हेल्लो सरकार चलाए तर जनतासँग हाइ हेल्लो गरेनन् । सर्वसाधारणले सिंहदबार र बालुवाटार देख्नै पाएन । आफ्ना कुरा सुनाउन नपाएरै यत्रो आक्रोश बढेको हो ।’ ‘यसअघि कुन–कुन मन्त्रीले इमेल खोलेर जवाफ दिन्थे ? कुन मन्त्रीले फोन उठाउँथे ? तर हामी फरक हुनुपर्छ भनेर केही मन्त्री कस्सिएका छन्’ स्रोत भन्छ, ‘सत्ताबाट टाढिएपछि मात्रै नेताहरूले फोन रिसिभ गर्छन् भन्ने भाष्य तयार भएको छ । यसलाई चिर्नैपर्छ । 

देउवा निवासमा पैसा नभेटिएको दाबी 

गत आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा भेटिएको दाबी गरिएको पैसाको बिटो एआइबाट बनाएको पाइएको छ । 

‘अहिले देउवा, ओली र प्रचण्डको बोली, बानी व्यहोरा र कतिपय कुराको बढी नै कुप्रचार भएको छ । यी तीनमध्ये देउवाको घरमा पैसा भेटिएको भन्ने जुन हल्ला छ त्यो सत्य होइन । भिडिओ एआईबाट बनाएको हो कि भनेर फरेन्सिक ल्याबबाट रिपोर्ट आएको छ ।’ उच्च सरकारी स्रोतले भन्यो । प्रचण्डको घरमा सुरुङ खनेर राखेको पैसा ट्रकबाट निकालेको हल्लाबारे यथार्थ विवरण नभएको सरकारी उच्च स्रोत बताउँछ । फरेन्सिक ल्याबको रिपोर्ट भिडिओमाथि लेयरिङ गरेर अर्को थपेको भन्ने छ’ स्रोतले भन्यो । 

उत्तर र दक्षिणबाट सहयोग लिइने 

भदौ २३ र २४ गतेको विध्वंशको तथ्यांक नै संकलन भैनसकेकाले विदेशीलाई नगुहारेको सरकारी स्रोत बताउँछ । पुनर्निर्माणभन्दा पनि अघिल्लो साल बाढीले बगाएको पुल बनाइदिन सरकारले भारतसँग आग्रह गरेको पाइएको छ । ‘पोहोर तीनरचार वटा पुल बगाएको रहेछ । तीसहित १० वटा पुल बनाइदिन आग्रह गर्दा भारतले दुई महिनाभित्र भनेको छ । एउटाचाहिँ १५–२० दिनमै आउँछ होला’ स्रोतले भन्यो । 

‘पुनर्निर्माण भन्दा पनि निर्वाचनलाई सहयोग चाहिन्छ कि भनेर भारत र चीन दुवैतिर कुरा गरेका छौँ । सकभर उत्तर–दक्षिणबाहेक अरूतिरबाट सहयोग नलिने नीति छ,’ स्रोतको भनाइ छ, ‘युरोपतिरकाले माइक्रो म्यानेज्मेन्ट गर्ने तर १० लाख मात्रै दिने गर्छन् । यसैले उत्तर र दक्षिणबाट मात्रै सहयोग लिने नीति बनेको छ ।’

(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू