‘भूत चलचित्र महोत्सव’ को तयारी
पहिलो पटक ‘काठमाडौं हरर चलचित्र महोत्सव’ आयोजना हुन लागेको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘हेलोविन डे’को अवसरमा कात्तिक १४ गतेदेखि महोत्सव गर्न लागिएको छ ।
प्रतिष्ठानका अनुसार नेपालमै हरर, लोककथा, मिथक र रहस्यमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजना हुने र कात्तिक १६ गतेसम्म चल्नेछ। यसमा १५ देशका २५ हरर फिल्म प्रदर्शन हुने जनाइएको छ।
विश्वभरबाट प्राप्त एक सय बढी चलचित्रमध्ये गुणस्तर, मौलिकता र विषयगत विविधताका आधारमा यी फिल्म चयन गरिएको हो। फिल्मको आह्वान अन्तर्राष्ट्रिय प्लेटफर्म ‘फिल्म फ्रिवे’मार्फत गरिएको थियो।
छानिएका फिल्मबीच प्रतिस्पर्धा हुने महोत्सवमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट युवा फिल्म गरी तीन विधामा पुरस्कार प्रदान गरिने छ।
निर्णायक मण्डलमा फोटोग्राफर राजुभाई सुवाल, फिल्म समीक्षक होसाम फाह्मी र अन्तर्राष्ट्रिय कलाकार यास्मिन बुछफार रहेका छन्।
टिप्पणीहरू