रास्वपामा विभागीय जिम्मेवारी हेरफेर

रास्वपामा विभागीय जिम्मेवारी हेरफेर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेको सचिवालय बैठकले सम्बन्धित क्षेत्रका विज्ञहरुलाई समेटेर विभागीय जिम्मेवारी तोकेको हो । 

जसअनुसार रवि किरण अधिकारी अनुसन्धान तथा अभिलेखीकरण विभागको प्रमुख बनेका छन् । उनी लामो समयदेखि विविध अनुसन्धनात्मक काममा सक्रिय रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । 

संगठन विभाग उपप्रमुखमा बोधनारायण श्रेष्ठ मनिनित भएका छन् । लामो समय संयुक्त राष्ट्रसंघमा कार्यरत उनलाई व्यवस्थापन विज्ञ भनिएको छ । 

नेपाल स्काउटको पूर्वनिर्देशक रामप्रसाद भट्टराई र जनस्वास्थ्य विज्ञ डा. कृष्णमान शाक्यले प्रशिक्षण विभागमा सदस्य पाएका छन् । सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुख बनाइएको छ । रुपन्देही-३ को उपनिर्वाचन (संसद विघटनपछि स्थगित) मा रास्वपाबाट उम्मेदवारको आकांक्षी रहेका उनी अधिवक्ता हुन् । 

ह्वाइट हाउस कलेजका प्राचार्य तोयानारायण पौडेल, पूर्वक्याम्पस प्रमुख पार्थीवेन्द्र उपाध्याय र मनिराम घिमिरेलाई शिक्षा विभाग सदस्य बनाइएको छ । महिला विभागमा ज्ञानु पौडेल र कल्पना पाण्डेलाई मनोनित गरिएको छ । 

अर्जुन अधिकारी प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख बनेका छन् भने ज्ञानेन्द्र महता विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव तोकिएका छन् । 

प्रमिला कुमारी सिंहलाई नीति विचार विभागको सदस्य बनाइएको रास्वपाले जनाएको छ ।

टिप्पणीहरू