सिडियो कार्यालयमा विद्या भण्डारी

सिडियो कार्यालयमा विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिनुभएको छ । गत भदौ २४ गतेको जेन–जी विध्वंशमा भंगालस्थित निवासमा भएको आगजनीका कारण नागरिकता जलेपछि उहाँले आज प्रतिलिपि लिनुभएको हो । 

नागरिकताको प्रतिलिपि लिएर उहाँ भर्खँरै जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट निस्किनुभएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए । जनआस्थासँग उनले भने,‘पाँच–सात मीनेटमा काम सकियो । उहाँ नागरिकताको प्रतिलिपि लिएर निस्किसक्नुभएको छ ।’

आगजनीमा उहाँको नागरिकतासँगै राष्ट्रिय परिचयपत्र,राहदानी,प्यान कार्डलगायत महत्वपूर्ण कागजात जलेको छ । स्रोतका अनुसार प्रशासनले नागरिकता बनाइदिन घरमै टोली पठाइदिने प्रस्ताव राखेको थियो । उहाँले प्रशासनको प्रस्ताव इन्कार गर्दै आफैं उपस्थित हुने भन्नुभएको स्रोतको जिकिर छ । 

‘प्रशासनले घरमै आएर नागरिकता बनाइदिन्छौं भनेको थियो, तर उहाँले म पनि सर्वसाधारण नै हो । त्यहीँ आएर बनाउँछु भन्नुभयो र आज गएर नागरिकताको प्रतिलिपि लिनुभएको छ’,स्रोतले भन्यो ।


 

टिप्पणीहरू