निकोलसलाई पाँच दिन थुन्ने अनुमति

निकोलसलाई पाँच दिन थुन्ने अनुमति फाइल फोटो

सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा पक्राउ परेका डा.निकोलस भुसाल पाँच दिन हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

‘सार्वजनिक शान्तिविरुद्धको कसुर’ मा पाँच दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले बताए । जनआस्थासँग उनले भने,‘अदालतबाट पाँच दिनको म्याद थप भएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीमाथि अनुसन्धान हुँदैछ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिसाइल आक्रमण गर्ने चेतावनी दिएका उनलाई केही दिनदेखि प्रहरीले खोजिरहेको थियो । सोही क्रममा प्रहरीले हिजो गोरखाको सरस्वती आश्रमबाट उनलाई नियन्त्रणमा लिएको हो । 

त्यहाँबाट हिजै काठमाडौं ल्याइएकोमा उनलाई आज अदालत उपस्थित गराइएको थियो । भुसाललाई गत असोज २३ गते पनि प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो । पिसाब परीक्षणमा गाँजाको मात्रा भेटिएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएका उनले उग्र खालको अभिव्यक्ति दिँदै आएका छन् ।
 

टिप्पणीहरू