मङ्सिर छ गतेका निम्ति एमालेको बिशेष योजना
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी प्रदर्शनपछि डराएका र सेलाएका कार्यकर्तालाई जगाउन नयाँ उपाय खोजिने बताएका छन् ।
आफूलाई भेट्न आज गुण्डु पुगेका नेताहरूसङ्गको कुराकानीमा उनले मंसिर ६ गते काठमाडौँमा विशाल कार्यक्रम गरेर ओइलाएका कार्यकर्तालाई जगाउने तयारी सुनाएका हुन् । ओलीले आफ्नै शैलिमा भने, ‘मान्छेहरुलाई ओइलाए,डराए, सेलाए भन्ने छ,हो पनि, तर एमालेले सबैलाई पानी छम्किरहेको छ, एमाले नै हो, जसले सबैलाई उठाउनुपर्छ, जगाउनुपर्छ, ६ गते काठमाडौँमा हामी उठाउनेछौँ ।’
एमाले सेलायो भन्ने भ्रम नपाल्न पनि उनले नेताहरूलाई आग्रह गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए । त्यसक्रममा ओलीले मुलुकलाई छाडातन्त्रमा चलाउन सरकारले संसद विघटन गरेको आरोपसमेत लगाएका थिए ।
संसद पुनःस्थापना हुनुपर्ने तर्क गर्दै उनले भनेका थिए, ‘देशलाई बेलगाम छाडातन्त्रमा चलाउन सरकारले संसद विघटन गरेको छ, सिफारिस गर्न हैसियत नै नभएकाहरुले मन्त्री सिफारिस गरेका छन्, यो प्रवृति देशको लागि घातक हुँदै गएको छ, हामी विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दछौँ ।’
फरक प्रसंगमा ओलीले पूर्वसहकर्मी झलनाथ खनाल पद नपाएर प्रचण्डतिर गएको दाबी गरे । खनाललाई पदको लालचीको संज्ञा दिँदै भने, ‘झलनाथजी अस्ति राती १२ बजेसम्म यहीँ हुनुहुन्थ्यो,उता त जाँदै जान्न भन्नुहुन्थ्यो, तर हिजो बिहान के भएछ कुन्नी,उता पुग्नुभएछ । उहाँले सिद्धान्तको कुरा गर्दै हुनुहुन्थ्यो, मैले सिधै तपाईंलाई सिद्धान्त चाहिया हो कि पद चाहिया हो ? त्यो भन्नुस् भनेँ ।’
खनालले एमालेमा फर्किने इच्छा देखाए पनि आफूले वास्ता नगरेको ओलीको भनाइ छ । ‘सिद्धान्तको लफडा धेरै नगर्नुस् भनेको थिएँ,पार्टी फुटाएर जाने कुरा कुन सिद्धान्तले दिन्छ ? मैले सिधै यही भनिदिएको थिएँ, भोलिपल्ट त उता जानुभएछ’, खनालप्रति अध्यक्षले गरेको कटाक्ष एक नेताले जनआस्थालाई सुनाए ।
टिप्पणीहरू