बिचौलियालाई समात्न टिम तयार
राज्य संयन्त्रलाई नै मुठ्ठीमा पारेर विभिन्न अवैधानिक गतिविधिमार्फत अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्दै आएका दीपक भट्ट र साहिल अग्रवालको सम्पत्ति छानबिनसम्बन्धी फाइल अख्तियारबाट अर्थ हुँदै सम्पत्ति शुद्धीकरण विभागमा पुगेको छ । द्रुत गतिमा अघि बढिरहेको त्यो फाइलमाथि यदि सरकारी कर्मचारीले चासो दिएर काम गर्ने हो भने उनीहरू नराम्ररी सेकिने अवस्था देखिएको अनुसन्धानमा सक्रिय एक अधिकारीले जनआस्थालाई बताए ।
सम्पत्ति शुद्धीकरण विभागमा यससम्बन्धी अध्ययनको लागि एउटा छुट्टै टोली गठन भइसकेको छ । राजश्व अनुसन्धान, आन्तरिक राजश्व विभाग, सिआइबी र सम्पत्ति शुद्धीकरणका मानिस त्यो टोलीमा रहेका छन् ।समाचार स्रोतका अनुसार नेपालको मौजुदा कानुनले व्यवस्था गरेअनुसार यस्तो विषयमा सम्पत्ति शुद्धीकरण एक्लैले मात्रै केही गर्न नसक्ने हुँदा अहिले राजश्व अनुसन्धान विभाग र सिआइबीले समेत यसमा काम गरिरहेको छ । तर, सम्पत्ति शुद्धीकरण विभागकै कतिपय अल्छी र कामचोर कर्मचारीका कारण फाइल अध्ययनमा ढिलाइ हुने हो कि भन्ने चिन्तासमेत बढेको बताइन्छ ।
दीपक भट्टमाथिको यस्तै अनुसन्धान प्रक्रिया यसअघि पनि अघि बढेको थियो । तर, उनको राजनीतिक पहुँच र सौदावाजीका कारण तामेलीमा रहेको सो फाइलबाट पनि आवश्यक जानकारी र सूचनाहरू संकलन र अध्ययन गर्ने काम भइरहेको एक अधिकृतले बताए । अनुसन्धान भने नयाँ सिराबाट शुरु गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय नेपालभित्र मात्र खोजेर नहुने, विदेशबाट नेपालले मागेअनुसारको सूचना लिन गाह्रो पर्ने चिन्ता उनीहरूलाई लागिरहेको छ । नेपालले अन्य मुलुकसँग यस प्रकारका सूचना आदानप्रदानको लागि सम्झौता नगरेका कारणसमेत विवरण प्राप्त गर्न कठिनाइ हुँदै आएको छ । ती मुलुकमा काम गरिरहेका राजदूतहरूको सक्रियता र सम्बन्धले पनि यस्तो अनुसन्धान र प्रमाण संकलनमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । त्यसबाहेक नेपालका अनुसन्धान अधिकृतहरूले समकक्षीसँग कुन ढंगको सम्बन्ध स्थापित गर्न सक्छन् वा गरेका छन् भन्ने कुराले समेत प्रमाण संकलन छिटो वा ढिलो हुने उनीहरू बताउँछन्।
तथापि दीपक भट्ट, साहिल अग्रवाललगायत सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन गर्नुपर्ने व्यक्तिहरूले कुन–कुन मुलुकमा कहाँ कहाँ कति लगानी गरेका छन्् र उनीहरूले के कस्ता स्रोतबाट त्यो सम्पत्ति आर्जन गरेका हुन् भन्ने कुराहरूको जानकारी भने आफूहरूसँग रहेको उनले बताए । स्रोतका अनुसार अध्ययन टोलीलाई अहिले खाँचो उताबाट प्राप्त हुने प्रमाणको मात्रै छ । यी व्यक्तिले कहाँ–कति लगानी गरेका छन् भन्ने कुराको जानकारी छ र त्यो प्रमाण उनीहरूले चाहेर पनि मेटाउन सक्दैनन् । त्यसैले अहिले दुबईमा रहेका दीपक भट्टले कतै प्रमाण मेटाउने पो हुन् कि वा सम्पत्ति अर्कै ढङ्गले व्यवस्थापन गर्ने पो हुन् कि भन्ने कुराको चिन्ता भने छैन । उनले दुबईमा रहेको सम्पत्ति यदि यसबीच कसैलाई बेचिहाले भने पनि सोसम्बन्धी विवरण र प्रमाण जीवितै रहने र त्यसले अदालतमा प्रमाणको रूपमा काम गर्नेमा उनीहरू ढुक्क छन् । त्यसमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा संसारका सबै देशले सहयोग गर्छन् ।
नेपालमा मात्रै सम्पत्ति राखेका र यहीँ अकुत आर्जन गरेकाहरूको हकमा भने अनुसन्धान त्यति जटिल छैन । तर, हतियारको दलालीबाट व्यापार शुरु गरेका दीपक भट्टको धेरैजसो सम्पत्ति विदेशमा छ र उनले आर्जन गरेको सम्पत्तिको व्यवस्थापनसमेत उतै गर्दै आएको निश्कर्षमा अनुसन्धान अधिकृतहरू पुगेका छन् ।
दीपक भट्टको हकमा के पनि सहजता छ भने उनले एकै दिन ४८ करोड रूपैयाँ जगदम्बा ग्रुपबाट लिएका छन् । उनीहरूबीच भएको सो कारोबार शंकास्पद छ किनकि लेनदेन किन र कुन प्रयोजनका लागि लिएको भन्ने खोजीले नै पनि धेरै कुरा खुल्नेछ । जबकि त्यो सम्पत्तिको स्रोत खुलाउन त्यति सजिलो छैन । विगतमा समेत यससम्बन्धी अनुसन्धान एउटा चरणमा पुगिसकेको हुँदा त्यसैलाई अघि बढाउन सहज रहेको अनुसन्धान अधिकृतहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘फाइल त नयाँ खडा हुन्छ । तर सूचना र प्रमाण एकै ठाउँमा जम्मा भएकै छ । त्यसैलाई लिएर अघि बढ्न सकिन्छ ।’
सम्पत्ति शुद्धीकरणमा नयाँ टिम आएर काम गर्ने हो भने मात्र अनुसन्धान छिटो अघि बढ्छ भन्ने कतिपयको तर्क छ । त्यसमाथि ओली सरकारले प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर यो निकायलाई निकै काम नलाग्ने र भुत्ते बनाएको कर्मचारीहरू बताउँछन् । त्यहाँ सरकारले मन नपराएका र कामचोर प्रवृत्तिका कर्मचारी रहेका कारण समेत यो महत्वपूर्ण अनुसन्धानमा ढिलाई हुने सम्भावना बढेको छ । त्यसमाथि यस प्रकारको अनुसन्धानका क्रममा कुनै एक व्यक्तिको अनुसन्धान गर्दा दर्जनौं व्यक्ति तानिने र उनीहरूमाथि समेत छुट्टै र गहिरो अनुसन्धान गर्नुपर्ने हुन्छ ।
(जनआस्था साप्ताहिकको कात्तिक १९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू