पर्यटक सुनसान, बोसहरुको भयंकर घुमघाम
सन् १९९८ डिसेम्बर १८ मा स्थापना भएर सञ्चालनमा आएको नेपाल पर्यटन बोर्ड आज आफ्नै औचित्य खोज्नुपर्ने अवस्थामा पुगेको छ ।
तत्कालीन सूचनामन्त्री शिवराज जोशीका भतिजो दिपकराज जोशी दोस्रोपटक एनटिबीमा सिइओ छन् । धनञ्जय रेग्मीभन्दा अगाडि यहाँ रहेका उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा गठित समितिले दोस्रो नम्बरमा सिफारिस गरेको थियो । तर, तत्कालीन मन्त्री बद्री पाण्डेलाई मिलाएर उनी दोस्रोपटक पनि बाजी मार्न सफल भए ।
नेपालमा पर्यटक भित्र्याउनभन्दा आफैं कसरी विदेश घुमघाममा जाने भन्नेमा बढी ध्यान केन्द्रित रहेको देखिन्छ । एक जना विदेशी नेपाल घुम्न आउँदा ११ सय रुपैयाँँ बोर्डलाई बुझाउनुपर्छ । वर्षेनि सरदर ११ लाख पर्यटन आउँछन् । यसरी प्रत्येक वर्ष एक अर्बभन्दा बढी रकम जम्मा हुन्छ । तर, सो रकमको सदुपयोग हुन सकेको छैन । वर्षेनि ३० करोड रुपैयाँँ कर्मचारीहरूको तलबमै सकिन्छ । सिइओले तलब र भत्ता गरेर मासिक पाँच लाख रुपैयाँँ खान्छन् भने अन्य कर्मचारीले दुई लाख ।
सरकारको सचिवभन्दा बढी तलब बोर्डमा कार्यरत कर्मचारीको छ । झण्डै ६५ जना कर्मचारी भएतापनि कार्यालयमा आधा पनि भेटिँदैनन् । अघिल्लो कार्यकाल पनि गोष्ठी र घुमघाममै सकाएका जोशीको दिन त्यसैगरी बितिरहेको छ । विदेशबाट पर्यटक ल्याउन खर्च गर्नुपर्ने रकम नेपालमै गोष्ठी गरेर सकाइदिन्छन् । ठुल्ठूला होटलमा प्रत्येक महिनाजस्तो कार्यक्रम आयोजना गरिएको हुन्छ ।
एउटै कार्यक्रममा लाखदेखि करोडसम्म खर्च गरिन्छ । यता, विदेशीले नेपाल आउँदा तिरेको रकम उनीहरूले आफू घुम्न गएर तिनै देशलाई फिर्ता गरिरहेका छन् । स्रोत भन्छ, ‘हरेकपटक विदेश जाँदा घटीमा पनि आठदेखि १० जनाको टोली हुन्छ । जति विदेशी पर्यटकबाट उठाउँछन्, विदेश गएर त्यतै फर्काउँछन् ।’ ‘यो पनि एक किसिमको भ्रष्टाचार नै हो, काम नगर्ने, घुमघाममै पैसा सक्ने,’ स्रोतले भन्यो ।
तत्कालीन सिइओ सुवास निरौला भ्रष्टाचार काण्डमा परे । ८१ करोड रुपैयाँँ भ्रष्टाचार काण्डमा विशेष अदालतले उनलाई सात वर्ष कैद सजायँ र जरिवाना तोकेको थियो ।
त्यसको लामो समयपछि दीपकलाई नियुक्त गरिएको हो । सुवास काण्डमा मुछिएपछि ६ वर्ष आलटालमै गुज्रियो । जसका कारण ६० वर्ष कटेकाहरू बोर्डको सिइओ बन्न पाएनन् । नयाँ विज्ञापन गर्दा मुद्दा पर्ने र लामो समय मुद्दामामिलामै व्यतित हुने भएपछि आवेदन दिएकै मध्येबाट कनिष्ठ कर्मचारी दीपकलाई नियुक्त गरिएको हो । दीपकपछि स्याङ्जाका रेग्मी धेरै विवादमा तानिए । बोर्डको रकम अपचलनदेखि कार्यविधिविपरीतका कार्यक्रम गरेकोलगायतका आरोप लाग्यो । उनी मन्त्रीसरह पाँच करोड पर्ने गाडी चढ्थे ।
उनले महाराजगञ्जमा चार तारे होटल खोलेका छन् । स्रोत भन्छ, ‘बोर्डको पैसा लगेर होटल खोलेका छन् । यो गलत भयो भन्यो भने मैले नेपालमा गेष्ट बोलाउन होटल खोलेको भन्छन् । पर्यटकले नेपाल आउँदा तिरेको फेयरले होटल खोल्न मिल्छ ?’
एमाले नेता योगेश भट्टराई संस्कृतिमन्त्री हुँदा बोर्डमा नियुक्त रेग्मी केही समयअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनले सिइओ बन्न दोस्रोपटक पनि आवेदन हालेका थिए । तर, संस्कृतिमन्त्री पाण्डेसँग पहिल्यै सेटिङ्ग मिलाइसकेको हुनाले दीपकलाई ल्याइयो । ‘विश्वविद्यालयमा भिसी मेरिट्रोकेसीका आधारमा भनेर पहिल्यै सेटिङ्ग गरी ल्याइन्छ, यहाँ पनि त्यस्तै हो । बाटो बनिरहेको छ, गाडी कुदिरहेको छ भनेझैं बोर्ड पनि नियमित प्रक्रियाअनुसार चलिरहेको छ । नयाँ नौलो केही छैन’, स्रोतले भन्यो ।
बोर्डले पर्यटनसम्बन्धी हरेक वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । जसमा ठूलो खर्च हुन्छ तर ती पुस्तक थन्काउनका लागि मात्र छापिएकोजस्तै देखिन्छ । पुस्तक प्रकाशन गरेर पर्दापछाडि थुपारी राखिन्छ र एक वर्षपछि कौडीको भाउमा कबाडमा बेचिन्छ । बोर्डका एक कर्मचारी भन्छन्, ‘त्यो पुस्तकमा मिति पनि हुने भएकाले अघिल्लो वर्ष छापिएको अर्को वर्ष बाँड्न मिल्दैन । अनि त्यो दिने भनेकै कबाडमा हो ।’
मुलुकको अर्थतन्त्रमा पर्यटकको ठूलो योगदान छ । हिउँदको मौसममा सबैभन्दा बढी पर्यटक नेपाल आउँछन् । तर, यतिबेला ८० प्रतिशत होटल अकुपेन्सी खाली छ । यता, पर्यटकीय क्षेत्रहरू पनि सुनसान छन् । भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशले पर्यटकहरू त्रसित भएका छन् । होटल व्यवसायीलाई आशा र उत्साह जगाउनुपर्नेमा बोर्डका पदाधिकारीलाई आकर्षक कार्यक्रममार्फत पर्यटक भिœयाउने जाँगर र क्षमता छैन । पर्यटक नआए पनि हिमाल आरोहण र चलचित्र सुटिङलाई प्रवद्र्धन गर्न सकिन्थ्यो । त्यतातिर पनि बोर्डको ध्यान छैन ।
टिप्पणीहरू