सुदन सरकारको विरोधमा, जेनजी बालेनको
गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन ‘हामी नेपाल’ एनजिओका संस्थापक सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीमाथि निरन्तर दबाब बढाइरहेका छन् । आफू निकट केही युवालाई पालैपालो सिंहदरबार र बालुवाटार पठाएर उनले प्रधानमन्त्रीलाई दबाब दिने गरेको बुझिन्छ ।
बताइएअनुसार सरकारले चुनावलाई प्राथमिकतामा राखेर काम गरिरहेको सुदनलाई खासै मन परिरहेको छैन । त्यसमाथि कपी ओली र रमेश लेखकलाई कारवाही नगरेकोमा उनी गृहमन्त्री अर्यालसँग आगो छन् । केही दिनअघि उनले 'अलोकप्रिय गृहमन्त्रीलाई सन्देश' भन्दै फेसबुकमा लामो स्टाटस लेखेर तत्काल पद छोड्न चेतावनी दिएका थिए ।
यो समूहका एक युवा भन्छन्, ‘सुदन दाइ जसरी पनि केपी ओली र रमेश लेखकलाई जेल कोचेर मात्र चुनाव गराउनुपर्छ भन्ने अडानमा हुनुहुन्छ, हुँदाहुँदा अहिले चुनावै नहुने अड्कालबाजी हुन थालेपछि उहाँ पनि त्यसैमा कस्सिनुभएको छ ।’
सुदनले कुन दिन कुन मन्त्रीलाई भेट्ने भन्ने तालिका नै बनाएका छन् । र, आफूले भनेको समयमा भेट नदिए जेनजीको नाम लिँदै धम्कीपूर्ण भाषामा थर्काउँछन् ।
‘गृहमन्त्रीले माखो मार्न सकेनन् भन्ने कुरा छ, सुदनले दाइले फेरि एक पटक सडकमा जानुपर्ने भयो भन्नुभएको छ, तर त्यसबारे औपचारिक निर्णय हुन बाँकी छ’, ती युवाले खुलाए ।
यता, गृहमन्त्री अर्याललाई हटाउन नसकेको भन्दै काठमाडौँ महागरपालिकाका मेयर बालेन साह पनि प्रधानमन्त्री कार्कीसँग सन्तुष्ट छैनन् । उनको पनि ओली र लेखकलाई पक्राउ गर्न नसकेकोले गृहमन्त्री हटाउनुपर्यो भन्ने छ ।
प्रम कार्कीले दुई साताअघि सम्पादकहरूसँगको छलफलमा बालेनबाट दबाब आएको संकेत गर्दै ‘आफूले भनेको मात्र हुनुपर्छ भन्छ, मेरो कुरा सुन्दैन !’ भनेकी थिइन् ।
रोचक के छ भने, १२ वटा जेनजी समूह मिलेर बनेको ‘जेनजी मुभमेन्ट अलायन्स’ यतिबेला बालेनविरुद्ध नै उत्रिएको छ । उनीहरुले सुकुम्बासीलाई विकल्प नदिई डोजर नचलाउन चेतावनीसमेत दिएका छन् ।
टिप्पणीहरू