घनश्याम भुसाललाई संयोजक बनाएर मंसिरमा राष्ट्रिय भेला

घनश्याम भुसाललाई संयोजक बनाएर मंसिरमा राष्ट्रिय भेला

नेकपा (एकीकृत समाजवादी)को संयोजकमा घनश्याम भुसाल तोकिएका छन् । वाम एकीकरणको विपक्षमा उभिएका नेताहरूको समूह भुसाललाई संयोजक बनाएर पार्टी पुनर्गठन गर्ने निश्कर्षमा पगेको हो । 

यसबारे छलफल गर्न हिजो साँझ बसेको जुम बैठकले पार्टी रिफर्म गरेर जाने निर्णयसहित संयोजन गर्ने जिम्मा भुसाललाई दिएको बताइएको छ । 

अध्यक्ष माधवकुमार नेपालसहित बहुमत नेता वामपन्थी एकतामा गएपछि एकीकृत समाजवादी तीन टुक्रा भएको छ । अध्यक्ष नेपाल, सम्मानित झलनाथ खनाल, वामदेव गौतमलगायत नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदा रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमालेमा फर्किने तयारीमा छन् । 

भुसालसहितका नेता भने तत्काल एकीकृत समाजवादीमै रहने भएका हुन् । यो समूहमा ७० भन्दा बढी केन्द्रीय सदस्य रहेको बताइएको छ । हिजोको जुम बैठकमा ६० जना सहभागी भएको र अन्य पनि थपिनेक्रम चलिरहेको दाबी गरिएको छ । 

बैठकले आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने र त्यसपछि चुनावको तयारीमा लाग्ने निर्णय गरेको छ । भुसाललाई झलनाथ निकट मानिएका घनेन्द्र बस्नेत, विजय पौडेल, दामोदर अर्याललगायतले संयोजक प्रस्ताव गरेका थिए । 

त्यसो त, तत्कालीन अध्यक्ष नेपालले नेपाली कम्युनिष्ट पार्टी घोषणा हुनुअघि भुसालसहित झाँझी र श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेका थिए ।
 

टिप्पणीहरू