विष्णु पौडेलकाे मन दुख्यो,शंकर पोखरेलकाे तयारी

विष्णु पौडेलकाे मन दुख्यो,शंकर पोखरेलकाे तयारी

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीसँग मन दुखाएपछि महासचिव शंकर पोखरेललाई शक्ति सञ्चयको कसरतमा फाइदा पुग्ने देखिएको छ । ओलीका विश्वास पात्र मानिने पौडेलले पछिल्लो समय नेतृत्वको आलोचना गर्न थालेपछि पोखरेलले त्यसको फाइदा उठाउन लागेका हुन् । 

रुपन्देहीका पौडेल र दाङका पोखरेलबीच लामो समयदेखि पश्चिमी भूगोलमा शक्ति संघर्ष चल्दै आएको छ । प्रदेश,जिल्ला र पालिकास्तरमा दुई समूहका नेता तथा कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको देखिन्छ । तर जेनजी घटनापछि पौडेलले ओलीप्रति मन मारेकाे र पोखरेलले उनी निकट नेताहरुलाई आफ्नो खेमामा भित्र्याउन छलफल चलाएकाे पाइएकाे छ । 

स्रोतका अनुसार भदौ २४ गते तत्कालीन प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारबाट भाग्दा आफूसँगै हेलिकोप्टरमा नलगेर प्रदर्शकारीको शिकार बन्न छाडिदिएको घटनाबाट उपाध्यक्ष पौडेल स्तब्ध छन् । उनले आफू निकट नेताहरुसँग अनौपचारिक छलफलमा भन्ने गरेका छन्, ‘आफ्ना नेतालाई मृत्युको मुखमा छाडेर आफू एक्लै भाग्नेलाई पनि के सर्वश्व मानिरहनु !’

‘ओलीप्रति पहिला जुन सद्भाव र विश्वास राख्नुहुन्थ्यो,त्यो अहिले छैन,बाहिर नबोले पनि कार्यकर्तासँग नेतृत्वको आलोचना गर्न थाल्नुभएको छ’,

उक्त दिन आफू भाग्यले बाँचेको कुरा पौडेलले सुनाउने गरेका छन् । ‘ओलीप्रति पहिला जुन सद्भाव र विश्वास राख्नुहुन्थ्यो,त्यो अहिले छैन,बाहिर नबोले पनि कार्यकर्तासँग नेतृत्वको आलोचना गर्न थाल्नुभएको छ’, निकटस्थ एक नेताले भने । 

रमाइलो के छ भने, यसरी पौडेलले आफ्नो समूहका नेता तथा कार्यकर्तासँगको अनौपचारिक छलफलमा नेतृत्वको आलोचना गर्न थालेको कुरा महासचिव पोखरेलले ओलीसमक्ष पुर्याइसकेका छन् । ‘आगामी महाधिवेशनमा पनि ओली कमरेड नै फेरि उठ्नेनपरिस्थिति बन्दै गएको छ,त्यसकारण विष्णु कमरेडलाई पनि अफ्ठ्यारो भएको हो, नत्र नेतृत्वको सवालमा पहिलेभन्दा अहिले विपरित सुनिन थाल्नुभएको छ’,तिनै नेता अघि भन्छन्, ‘त्यही कुरा महासचिव कमरेडले फेरि माथि (ओलीसमक्ष) पुर्याइसक्नुभएछ,आखिर उहाँलाई पनि यही अवसर चाहिएको थियो ।’

महासचिव पोखरेलले अहिले पौडेल समूहका नेताहरुलाई ‘यस्तो बनाइदिन्छु, उस्तो बनाइदिन्छु’ भन्दै आफ्नो समूहमा भित्राउने प्रयास गरिरहेको सुनिन्छ । कतिपय नेता त पोखरेल समूहमा भित्रिसकेको पनि बुझिएको छ । 

हालसम्म ओलीकै विश्वास पात्रको रुपमा देखिएका पौडेल आगामी महाधिवेशनसम्म फरक कित्तामा उभिए अनौठो नमान्नुपर्ने पनि स्रोतको भनाई छ । ‘विष्णु कमरेडले सहन सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा हो,सहन सक्नुभएन  भने आगामी महाधिवेशनमा नयाँ ट्वीस्ट आउनसक्छ’, ती नेताले थपे।

टिप्पणीहरू