चट्टानी अडानमा तुरुन्तै चट्याङ्ग

चट्टानी अडानमा तुरुन्तै चट्याङ्ग

कर्मचारी सरुवामा थिति बसाल्न “चट्टानी अडान” लिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव र कर्मचारी प्रशासन महाशाखा प्रमुख हिस्स परेका छन् । गृह मन्त्रालयको एउटा पत्रका कारण सचिव रविलाल पन्थ र महाशाखा प्रमुख पार्वती शर्मा आफ्नो अडानबाट पछि हट्नुपर्ने अवस्थामा पुगेका हुन् । 

कर्मचारी सरुवामा भएको चरम बेथिति र असुलीले आजित मन्त्रालयको नेतृत्व सुधारमा लागिपरेको छ । मनलाग्दी कर्मचारी सरुवा गर्ने र निमित्त दिने प्रवृत्तिलाई रोक्नका लागि अगाडि बढेका उनीहरुले अलिकति पनि प्रक्रिया र अडानबाट दायाँबायाँ नहुने दावी गरेका थिए । संघीयले कतैबाट पनि कुनै हस्तक्षेप वा दबाब नसहने बताइरहेका बेला गृहको एउटा पत्रले उनीहरुको अडानलाई चुनौती दिएको हो ।

गत भदौ १२ गते मन्त्रालयले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्न रोक लगाउने अघिल्लो सरकारको निर्णय कडाइका साथ लागू गर्ने निर्णय गरेको थियो । त्यसैगरी, भनसुनमार्फत सरुवा गर्ने कार्य रोक्ने निर्णय पनि भएको थियो । तर,गृहको पत्र उनीहरुका लागि ‘पहिलो गाँसमै ढुंगा’ सरह बनिदिएको छ । गृहले संघीयमातहत भएको सरुवालाई कार्यान्वयन नगर्न पत्राचार गरेपछि सचिव पन्थ र प्रमुख शर्मा अलमलमा परेका छन् । 

सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते निर्वाचन मिति तोकेकाले गृहले सरुवा कार्यान्वयन नगर्न भनेको छ । त्योसँगै अन्य मन्त्रालयले पनि चुनावलाई देखाएर सरुवा भइसकेका कर्मचारीलाई रमाना नदिने सम्भावना बढेको छ ।

टिप्पणीहरू