मुख्यमन्त्री नियुक्तिलगत्तै मधेशमा बल्न लाग्यो आगो

मुख्यमन्त्री नियुक्तिलगत्तै मधेशमा बल्न लाग्यो आगो

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर फेरि किचलो शुरु भएको छ । प्रदेश प्रमुखले आज बिहान सबेरै होटलमा सट्याकसुटुक मुख्यमन्त्री नियुक्त गरेपछि राष्ट्रियस्तरमै विरोध भैरहेको छ । जनकपुरस्थित मुख्यमन्त्री कार्यालय तोडफोड भैसकेको छ ।

बिश्वासको मत पाउन स्थिति नदेखेर जितेन्द्र सोनलले हिजो राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सुमित्रा भण्डारीले सुटुक्क एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । बर्दिबासको एउटा होटलमा उनले आज बिहान यादवलाई मुख्यमन्त्रीको शपथ ग्रहण खुवाएकी थिइन् । 

उपचारका लागि काठमाडौं जाने भनी बिहान ४ बजे जनकपुरबाट निस्किएकी उनले बीच बाटोमै मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएकी हुन् । सो विषय बाहिरिएलगत्तै प्रदेश प्रमुखको चर्को आलोचना भइरहेको छ । उनले होटलमा प्रदेशको अस्मिता समाप्त पारेको मधेशका नेताहरुको आरोप छ । 

यता, मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन थालिएको छ । प्रदेश प्रमुख भण्डारीका अनुसार उनलाई नेपालको संविधानको धारा १६८ उपधारा (३) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मुख्यमन्त्री यादवले चार सदस्यीय मन्त्रिमण्डलसमेत गठन गरिसकेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमित्रालाई डेनमार्कको निम्ति राजदूत नियुक्त गरेका थिए । तर,बेलैमा राजदूत नियुक्ति कार्यान्वयन हुन नसकेपछि  उनलाई त्यसको क्षतिपूर्तिबापत प्रदेश प्रमुख बनाइएको थियोे ।

टिप्पणीहरू