आफू लुक्न बंकर बनाउने कि फायर प्रुफ गराउने ?

आफू लुक्न बंकर बनाउने कि फायर प्रुफ गराउने ?

भदौ २३ को जेनजी प्रदर्शन र २४ गतेको विध्वंशका कारण सरकारी संरचना ध्वस्त भएको छ । 

ती संरचना पुनर्निर्माण गर्न खर्बौं जुटाउनुपर्ने छ । भवन जलेसँगै गम्भीर प्रश्न उठेको छ– बालुवाटार र सिंहदरबारमा प्रधानमन्त्री लुक्न बंकर बनाउन सक्ने दिमाग भएकाले फायर प्रुफ उपकरण प्रयोग गरेर भवन निर्माण गर्न किन चासो दिएनन् ? बंकर बनाउन जति दिमाग भवनलाई अग्निरोधक बनाउनमा लगाएको भए, इतिहास बोकेको सम्पदाहरू सायदै खरानी बन्थे ।

इजरायलका घरघरमा हमलाबाट जोगिन सुरक्षित कोठा भएझैँ सिंहदरबार र बालुवाटारभित्र कसैले हमला गरेमा लुक्नका लागि बंकर बनाइएको छ । तर, अन्ततः त्यही बंकरमा समेत लुक्न नसक्ने अवस्था सिर्जना भएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले सेनाको हेलिकप्टरमा ज्यान बचाएर भाग्नुपर्‍यो तर २४ गते देशभरको आगजनीमा बालुवाटार र सिंहदरबार पनि अछुतो रहेन ।

सेनाले बेलैमा ओलीलाई बालुवाटारबाट उद्धार नगरेको भए, काँग्रेस सभापति शेरबहादुर देउवा दम्पती जस्तै हालत हुन सक्थ्यो । प्रधानमन्त्री निवासमा दुई वटा स्विमिङ पुल हुँदासमेत आगो निभाउन पानी पाइएन । भोलिपल्टसम्म बलिरह्यो ।

सम्बन्धित निकायले निर्माण गर्ने बेलैमा आगजनी हुँदा अटोमेटिक पानी आउने सिष्टम राखेको भए, सिंहदरबार, बालुवाटार, राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा यति धेरै क्षतिचाहिँ हुँदैनथ्यो । उता, दुई वर्षअघि मात्र निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण गरिएको मन्त्री र मुख्यमन्त्रीहरूको आवास क्षेत्रमा पनि खरानीबाहेक केही बाँकी छैन । ललितपुर महानगरपालिका–१८, भैंसेपाटीमा मन्त्रीका लागि भव्य निवास निर्माण गरिएको हो ।

प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र मन्त्री बस्न मिल्नेगरी झण्डै तीन दर्जन भवन ९६ रोपनी १० आना जग्गामा बनाउँदा झण्डै दुई अर्ब रूपैयाँ खर्च भएको छ ।

त्यही लगानी क्षणभरमै ‘बालुवामा पानी’ बनेको छ । त्यहाँ भिआईपीहरूको सुविधाका लागि मनग्ये पार्किङ्ग, स्विमिङ पुल, वाटर फाउण्टेन, जिम हल, किराना पसलको पनि व्यवस्था गरिएको छ तर स्विमिङ पुल र वाटर फाउण्टेन बनाइरहँदा कसैले पनि आगो निभाउन पानी चाहिन्छ भन्ने कुरा ख्याल गरेनन् । अर्बौं रूपैयाँ लगानी गरेपछि आगलागी र भूकम्प प्रतिरोधक भवन बनाउनुपर्छ कि पर्दैन ? गम्भीर प्रश्न उठेको छ ।

उता, सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि दर्जनाैँ कोठासहित बनाइएको आलिशान भवन पनि कामै नलाग्ने भएको छ । २७ रोपनी १२ आना जमिनमा अनेकौँ भव्य भवन निर्माण गर्दा झण्डै ८५ करोड रूपैयाँ खर्च भएको छ । 

प्रदेशमा बस्ने र कहिलेकाँही काठमाडौं आउनेलाई राजधानीमा छुट्टै आवासको आवश्यकता थिएन । यदि, बस्न समस्या भए एउटै भवन बनाएर एक–एक वटा फ्ल्याट दिन सकिन्थ्यो । यसरी जमिन बच्थ्यो, पैसा पनि । 

स्विमिङ पुल, सौना, स्टिम बाथ, लक्जरियस किचनलगायतमा ठूलो खर्च त गरियो, तर आगो लाग्दा निभाउने उपकरण राख्दा ध्यान पुर्‍याइएन । जसको परिणाम हो, २४ गतेको क्षति । पछिल्लो समय बजारमा फायर प्रुफ तारहरू छ्याप्छ्याप्ती पाइन्छ । ती तार भीषण आगो लागेपनि जल्दैनन् । प्लास्टिकको तारले भने आगोलाई झन् ठूलो बनाउँछ ।

आगोबाट जोगाउनका लागि माटोको फलसिलिङ्ग हाल्न सकिन्थ्यो । किनकि, त्यसमा आगो बल्दैन । अब भवन निर्माण गर्दा भने साँच्चै आगो र भूकम्प प्रतिरोध बनाउनुपर्छ । नत्र भइरहने यस्ता आन्दोलनका कारण पटक–पटक क्षति खेपिरहनुपर्ने हुनसक्छ ।

जल्यो कि नियतवश जलाइयो ?

जेनजी विध्वंशबाट निजी क्षेत्रलाई पनि ठूलो नोक्सानी पुगेको छ । व्यापारिक घराना शंकर ग्रुपको हिल्टन होटल अब तस्बिरमा मात्र सीमित भएको छ । पाँच तारे होटल हिल्टन झण्डै ९ अर्ब रूपैयाँ लागतमा निर्माण भएको हो । सञ्चालनमा आएको केही समयमै खरानीमा फेरियो । सुरक्षा निकायले भनियो तर उक्त आगजनीलाई शंकास्पद तवरले हेरेको छ ।

पाँचतारे होटलमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुन्छ भन्ने कुरामा कुनै शंका छैन । विदेशी पर्यटक बस्ने होटलमा झन् व्यवस्थापन हाइस्ट्याण्डर्डकै हुन्छ । आगो निभाउनका लागि निर्माणकै क्रममा अत्याधुनिक उपकरण जडान गरिन्छ । तातोलाई चिसो बनाउन ग्याँस राखिएको हुन्छ । तापक्रम माथि पुगे अटोमेटिक पानी आउने व्यवस्था मिलाइएको हुन्छ ।

तर, हिल्टनमा आगजनी हुँदा किन पानी आएन ? सवाल उठेको छ । स्रोतका अनुसार अघिल्लो दिन नै पाइपलाइन बन्द भएको हुनुपर्छ ।

विश्वस्त स्रोत भन्छ, ‘त्यो अष्ट्रेलियन आर्किटेक्टले डिजाइन गरेको भवन हो । त्यहाँ सबै प्रविधि जडान गरिएको छ । तापक्रम बढ्दा पानीको फोहोरा अटोमेटिक्कल्ली आउँछ । तर, अघिल्लो दिन नै पाइपलाइप बन्द गरेको भएर भवन बल्यो । त्यत्रो होटलमा हजारौं लिटर पानी स्टक हुन्छ, त्यतिबेलै आगो निभाउन सकिन्थ्यो ।’

बिमाको थुप्रै रकमका लागि त्यसो गरिएको हुनसक्ने स्रोतको जिकिर छ । हिल्टनले भारतीय इन्स्योरेन्स कम्पनीमा बिमा गरेको छ । ६ अर्ब आइसी रुपैयाँमा बिमा गरिएको सो होटलमा हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स लिँदा घोटाला भएको एक अर्ब रूपैयाँ पनि लगानी गरिएको छ । 

प्रहरी स्रोत भन्छ, ‘हामीलाई शंका छ । त्यसैले अनुसन्धान अगाडि बढाएका छौं । त्यहाँ हजारौं लिटर पानी आगो लाग्दा कहाँ गयो ? कुनै सिष्टम किन चलेन ? यसमा केही न केहीचाहिँ छ । अनुसन्धानपछि बाहिर आउला ।’

(जनआस्था साप्ताहिकको कात्तिक १९ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू